रसुवा । रसुवाको अमाछोदिङ्मो गाउँपालिका–५ पुरानो तातोपानीमा तीन दिने ग्रामीण होमस्टे प्रवर्धनको लागि स्थानीय परिकार निर्माणसम्बन्धी कुक तालिम आइतबार सम्पन्न गरिएको छ ।
आमाछोदिङ्मो गाउँपालिकाको आयोजना तथा एक्स्प्लोर इन्स्टिच्युट अफ होटेल म्यानेजमेन्टको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बुचुङ तामाङले प्राकृतिक सुन्दरता, कृषि र हाईड्रो पर्यटनको प्रचुर सम्भावना रहेको श्रोत र साधनले सम्पन्न यो गाउँपालिकाको पर्यटन विकासमा गाउँपालिका–५ पुरानो तातोपानीमा तीन दिने ग्रामीण होमस्टे प्रवर्धनको लागि स्थानिय परिकार निर्माणसम्बन्धी कुक तालिम तथा आतिथ्यता सत्कार तालिमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । तालिममा सहभागीहरूलाई सिकेको सिप र ज्ञानलाई व्यवहारमा उतारेर उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी एरियाको पर्यटन विकासमा सहभागी हुन समेत प्रमुख तामाङले आग्रह गरेका छन् ।

कार्यक्रमका सभाध्यक्ष तथा वडाअध्यक्ष दावा गोम्बो तामाङले सामाजिक विकास सिकेको सिप व्यवहारमा उतार्न आग्रह गरे । आफूसँग भएका कच्चा पदार्थलाई स्थानीय सिप र श्रमको प्रयोग गरी उत्पादन गरिएका उपभोग्य वस्तुहरूको उपभोग गर्ने सोचको विकास हुनु पर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी, तालिममा उत्सुकतापूर्वक सहभागिता जनाएका प्रशिक्षार्थीहरूले तालिमको आयोजना गरेर आफूहरूलाई एउटा आर्थिक विकासको विकल्प देखाइएको र यो तामिललाई आफूहरूलाई होमस्टे सञ्चालन गरेर आयआर्जन गर्ने अवसर मिलेको प्रतिक्रिया व्यक्त गरेका थिए ।

डा. अलखबाबु (आलोक) प्रसाईद्वारा होमस्टे पर्यटनको सैद्धान्तिक प्रशिक्षण दिइएको उक्त तालिममा दुई दर्जनभन्दा बढी होमस्टेकर्मी तथा होटेल व्यवसायीहरूको सहभागी रहेको थियो । त्यसैगरी चर्चित युवा सेफ बिजय घिमिरेद्वारा स्थानीय खाद्य उत्पादनलाई खानाका विभिन्न परिकार बनाउन सकिने सिप सिकाएको उक्त तालिममा एक्स्प्लोर इन्स्टिच्युट अफ होटेल म्यानेजमेन्टका निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले होमस्टे पर्यटनको बजारीकरणसम्बन्धी प्रशिक्षण दिएका थिए ।