काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले नेपाली कालिगड पलायन र विस्थापित हुँदै गएकाले दोस्रो पुस्तामा शीप हस्तान्तरण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
महासंघले हिजो बुधबार राजधानीस्थित एक होटेलमा पत्रकार सम्मेलन गरी नेपाली मौलिक क्राफ्टम्यानशीप लोप हुँदै गएकाले शीप हस्तान्तरण हुन नसकेको बताएको हो ।
रोजगारीका लागि नेपाली युवाहरु जोखिमपूर्ण कामका लागि न्यून श्रम मूल्यमा पलायन हुँदा स्वदेशी आभूषण निर्माण क्षेत्रमा विदेशी कालिगडको बाहुल्यता रहेको महासंघको भनाइ छ ।
आभूषण क्षेत्रले नेपाली राजस्वमा वर्षेनि १२ अर्ब भन्दा बढीको योगदान गर्दै आए पनि यस क्षेत्रलाई प्रोत्साहित गर्न कुनै क्षेत्रबाट पहल नभएको महासंघका अध्यक्ष किसान सुनारले बताए । राजस्वमा वर्षेनि अर्बौँ योगदान गर्दै आए पनि यस क्षेत्रमा उचित मापदण्डको अभावले बहुमूल्य गहनाको उत्पादन, कारोबार, नियमन, आयात, आपूर्ति व्यवस्थित हुन नसकेको अध्यक्ष सुनारको भनाइ छ ।
त्यस्तै, उनले स्वदेशी रत्न पत्थर उत्खनन, प्रशोधन र निर्यातमा सरकारले निजी क्षेत्रसँग समन्वय एवम् सहकार्य गर्नु आवश्यक भएको पनि औँल्याएका छन् ।
महासंघका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठले नेपाली समाजमा गरगहनाको महत्व सिगांरमा मात्र सीमित नभएको जिकिर गरे । नेपाली समाजमा गरगहनाको सांस्कृति र पौराणिक महत्व समेत भएको श्रेष्ठको भनाइ छ । कार्यक्रममा महासंघका द्वितीय उपाध्यक्ष सुधिर अग्रवाल, सचिव केशर बहादुर विक, कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा, सह–कोषाध्यक्ष दिपक धनुके, सल्लाहकार डा. सोमनाथ सापकोटा लगायतको उपस्थित थियो ।
सुनचाँदीको पैठारी खुला गरे राजश्व बढ्छ, अपर्याप्त आपूर्तिका कारण हुने विकृति अन्त्य हुन्छः महासंघ
FACEBOOK COMMENTS