काठमाडौं । सहकारीको रकम अपचलन गरेको अभियोगमा विभिन्न अदालती झन्झट खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राजनीतिक वृत्तमा बेपत्ताजस्तै छन् ।
उनी वेपत्ता हुनुलाई राजावादी ‘मुभमेन्ट’सँग सहकार्य गरिरहेको चर्चा भइरहेका बेला आज एउटा महत्वपूर्ण र अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गर्न आज उच्च अदालत पाटन पुगेका उनले त्यहाँबाट बाहिरिने क्रममा आफू राजावादीसँग सहकार्य गरिरहेको छनक दिएका हुन् ।
सभापति लामिछानेले सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै अब मुलुकमा बोल्ने समय आउँदै गरेको भएर तत्कालै धेरै नबोलने प्रतिक्रिया दिएका छन् । ‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु । गेट रेडि फर द रेभुलेसन,’ उनले भने, ‘म बोल्यो भनेर गाह्रो भएको होला । जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली चाहिँ बन्द हुन्छ ।’
उनले आफू आवेग र उत्तेजनामा नभएको पनि प्रष्ट पार्दै धेरैको बोली बन्द गर्ने चेतावनी दिएका छन् । यो चेतावनीपूर्ण अभिव्यक्ति निकै अर्थपूर्ण रहेको चर्चा हुन थालेको छ । खासगरी रवि लामिछाने राजावादीसँग मिलेर व्यवस्था परिवर्तनमा क्रियाशील रहेको छनक उनले दिएका छन् । तर, रास्वपामा अन्य नेताहरू भने गणतन्त्र जोगाउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।
त्यसो त उनको पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकालले रास्वपाको जन्मअघि पनि पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गरेर जाने तयारी रहेको कुरा केही दिनअघि खुलासा गरेका छन् । तत्कालीन समयमा राजाले रविको प्रस्ताव अस्वीकार गरेपछि गणतन्त्रको लाइनमा रास्वपा स्थापना गरिएको विषय ढकालले उजागर गरिसकेका छन् ।
ढकालको सो खुलासाको आलोकमा अहिले रवि लामिछाने पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी शक्तिसँग सघन छलफलमा रहेको पुष्टि हुन्छ । त्यसैको आडमा लामिछानेले अब मुलुकमा क्रान्ति हुन्छ र त्यसका लागि तयार रहन अपिल गरेको हुनसक्ने अनुमान गरिएको छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS