काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा नेपालको पहिलो कलेजको पहिचान बनाएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले ‘पायोनियर इन्टरनेशनल डिग्री कलेज’ विधामा प्रतिष्ठित अवार्ड हात पारेको छ।
फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको ‘फेयर एक्सप्रेस इन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ मा यो सम्मान प्राप्त भएको हो। कुल ४० विधामा उत्कृष्ट शैक्षिक संस्था र शिक्षा क्षेत्रका योगदानकर्ताहरूलाई प्रदान गरिएको यो अवार्डमा लर्ड बुद्धले आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ।
कार्यक्रममा लर्ड बुद्धसँगै शिक्षा क्षेत्रका अन्य थुप्रै संस्था र व्यक्तित्वहरू पनि पुरस्कृत भएका छन्। शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ६ जना सम्मानित व्यक्तिहरूमा भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी, शिक्षा सेवी इ. डा. मिथिलेश कुमार झा, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष राजेन्द्र बराल, शिक्षाकर्मी डा. देवकान्त जोशी, शिक्षा पत्रकार समाजका पूर्व अध्यक्ष प्रकाश सिलवाल र नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ रहेका छन्।
अवार्ड समारोहमा “नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ” भन्ने सन्देशलाई जोडदार रूपमा प्रस्तुत गरिएको थियो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिका सभापति अम्बर बहादुर थापा, शिक्षाविद् विद्यानाथ कोइराला, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले संयुक्त रूपमा यो घोषणा गरे। उनीहरूले “नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ” लेखिएको पम्प्लेट प्रदर्शन गर्दै शैक्षिक सुधारको प्रतिबद्धता दोहोर्याए।
समारोहमा माध्यमिक तथा उच्च शिक्षामा योगदान पुर्याउने नेपालका शैक्षिक संस्थाहरू र विदेशी अध्ययनका लागि सहयोग गर्ने एजुकेशन कन्सल्टेन्सीहरूलाई गरी कुल ४० विधामा पुरस्कृत गरिएको थियो। २० वटा विधा शैक्षिक संस्थाका लागि र बाँकी २० विधा कन्सल्टेन्सीहरूका लागि छुट्याइएको थियो।
लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको यो उपलब्धिले नेपालको सूचना प्रविधि शिक्षालाई नयाँ उचाइमा पुर्याएको छ भने देशभरका शैक्षिक संस्थाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
FACEBOOK COMMENTS