काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी कसुरमा मुद्दा नचलाउने निर्णयविरूद्ध परेको रिट आज बुधबार पेसी सूचीमै चढेन ।
२०७९ चैत ६ गते तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले राहदानी कसुरको मुद्दामा तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।
महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णयविरूद्ध युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा चैत २० गते रिट दायर गरेका थिए ।
करिब दुई वर्ष बिते पनि उक्त रिटमा अन्तिम किनारा लागिसकेको छैन । गत भदौ २४ को घटनामा सर्वोच्च अदालत जलाइँदा धेरै मुद्दाका मिसिल जलेका थिए । यो मुद्दाको मिसिलमा भने क्षति पुगेको छैन ।
आज बुधबार गोलाप्रथा गर्दा संवैधानिक इजलास समेत भएकाले फेरि पेसी सूचीमा नचढेको रिट निवेदक युवराज सफलले जानकारी दिए ।
’पेसी तोकिएको थियो । तर आज संवैधानिक इजलास पनि भएकाले स्थगित भएको हो,’ उनले भने । अमेरिकी राहदानी हुँदाहुँदै झूटा विवरण पेस गरेर नेपाली राहदानी लिएको भन्दै लामिछानेमाथि छानबिन गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो ।
उक्त उजुरीमाथि अनुसन्धान गर्दै प्रहरीले ’लामिछानेविरूद्ध मुद्दा चलाउन नपर्ने’ सुझाव जिल्ला सरकारी वकिलको कार्यालयलाई दियो । जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयलाई दिएको थियो । उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि ’लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने’ राय सहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो । लामिछाने विरूद्धको राहदानी मुद्दा पेसीमा चढेर स्थगित भएको यो पहिलो पटक होइन । मंसिर १९ गते पनि पेसी थियो । तर सूचीमा चढेन ।

FACEBOOK COMMENTS