काठमाडौं । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि रास्वपा सभापति रवि लामिछानेलाई भरतपुर हुँदै रुपन्देहीतर्फ लगिएको छ । लामिछाने सवार बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर उडेको छ ।
केन्द्रीय कारागारका डीएसपी जेसी शाहले लामिछानेलाई लिएर गएका हुन् । शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराइए पनि भैरहवाको मौसम नखुलेका कारण लामिछाने लामो समय विमानस्थलमा रोकिएका थिए ।
बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्ववय वासुदेव आचार्य र तेजनारायण पौडेलले उनलाई ३ वटा सर्त पुरा गरेर छाड्न आदेश गरेका थिए । आदेशको अन्तिम बुँदामा रविलाई कागज गराउने विषय उल्लेख छ ।
बुटवल स्थित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न कसुरमा लामिछानेले यसअघि २०८१ माघमा १ करोड धरौटी राखेका थिए । सो धरौटी फुकुवा भैसकेको हुनाले उनले फेरि धरौटी रकम जम्मा गर्नुपर्नेछ । लामिछानेले बिगोको हकमा दामासाहीले हुने रकम सुनिश्चितता गर्ने भन्दै बैंक जमानत सहित उच्च अदालतमा निवेदन दिएका थिए । सो जमान उच्च अदालतले सर्तसहित स्विकार्न आदेश गरेको छ ।
FACEBOOK COMMENTS