काठमाडौं । आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याउने भएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतीमा सोमबार एक कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने खबर सार्वजनिक गरेको हो ।
आरबीले ३० मार्चमा आफ्नो २७औं वार्षिकोत्सवको उपलक्ष्यमा भब्य ज्वेलरी रनवे गर्ने जनाएको छ । जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्नेछ । सोही रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन् ।
कार्यक्रम यही मार्च ३० (चैत १६) गते हुनेछ जसको शो ओपनरको रुपमा भने किम गुडबर्न आउने भएका छन् ।
हलिउड अभिनेता तथा मोडल किमको उपस्थितिले कार्यक्रममा थप रौनक थप्ने आरबीको विश्वास छ । उनले रनवेमा आरबीको पुरुषका डायमण्ड कलेक्सनहरु प्रस्तुत गर्नेछन् ।
कार्यक्रमका लागी आफू हर्षित रहेको ज्याकलिनले बताएकी छन् । उनले एक भिडिओ सन्देशमार्फत आफू कार्यक्रमका लागि आतुर रहेको बताइन् । किमले पनि भिडिओ सन्देश मार्फतै कार्यक्रमको लागि आफू तयार भएको खबर पठाएका छन् ।
ज्याकलिन आउने खबरसहित आरबी डायमण्डले हिजो नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।
यस्तै, नयाँ लोगोसँगै आरबीले हिजै आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको पनि घोषणा गरेको छ । आरबीले चर्चित कन्टेन्ट क्रिएटर, डिजाइनर र नेपालको फेसन उद्योगका व्यक्ति रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो ।
आरबी डायमण्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले २७ औं वार्षिकोत्सवलाई रोमाञ्चक कार्यक्रमका साथ मनाउन पाउँदा खुशी लागेको बताए ।
FACEBOOK COMMENTS