काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका २७३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको तेस्रो लहर शुरू भएयता उक्त संख्यामा कर्मचारी संक्रमित भएपछि विभिन्न १४ वटा शाखा कार्यालय बन्द गरिएको जानकारी बैंकले दिएको छ ।
बैंकको ५७औं वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा सो जानकारी दिएका हुन् । त्यस्तै उनले कोरोना भाइरसको तेस्रो लहर आउनुअगाडि नै विभिन्न शाखामा कार्यरत ५७५ जना कर्मचारी संक्रमित भएको तथा संक्रमितमध्ये तीन जनाले ज्यान गुमाएको जानकारी पनि दिएका छन् ।
सीईओ श्रेष्ठले तेस्रो लहरमा संक्रमित हुने कर्मचारीहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने पहिलो र दोस्रो लहरबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
कोरोना महामारीलगायत विभिन्न समस्याका बावजुद पनि बैंकले आफ्नो सेवालाई निरन्तर जारी राखेको सीईओ श्रेष्ठको भनाइ छ । आगामी दिनमा पनि थप समस्याहरू देखिन लागेको भन्दै उनले चुनौतिको सामना गर्न राष्ट्रिय वाणिज्य बैंक प्रतिबद्ध रहेको समेत जनाएका छन् ।
FACEBOOK COMMENTS