काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करको बोझ ह्यात्तै घटाउने नीति अघि सारेको छ ।
आगामी २१ गते हुने निर्वाचनका लागि आज सार्वजनिक गरिएको ‘बाचापत्र’मार्फत सो पार्टीले निजी क्षेत्रसँगको उन्नत समझदारी (कम्प्याक्ट) का आधारमा राजस्व नघट्ने प्रत्याभूतिसहित सबै करहरूको बोझ घटाउने प्रतिवद्धता व्यक्त गरेको हो ।
‘सामाजिक न्यायसहितको उदार अर्थनीति अवलम्बन गर्ने दल भएकोले निजी क्षेत्रसँगको उन्नत समझदारी (कम्प्याक्ट) का आधारमा राजस्व नघट्ने प्रत्याभूतिसहित सबै करहरूको बोझ घटाउनेछौं,’ बाचापत्रमा भनिएको छ ।
यस्तै, कर कानुन तथा नियमहरू भूतप्रभावी ढङ्गले नलगाउने, नियोजित कर छली रोक्ने, मध्यम वर्गीय परिवार र बालबालिकाको उज्ज्वल भविष्यका लागि ‘पारिवारिक भार’ का आधारमा आयकर (तलबमा लाग्ने कर) को सीमा पुनरावलोकन गर्ने नीति पनि रास्वपाले अघि सारेको छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा पालनपोषण खर्चबापत निश्चित रकम करयोग्य आयबाट घटाउन पाउने कानुनी व्यवस्था गर्दै संस्थागत बचत कार्यक्रमहरूलाई प्रश्रय दिने योजना पनि बाचापत्रमा उल्लेख छ ।

FACEBOOK COMMENTS