सिन्धुपाल्चोक । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेका सिन्धुपाल्चोकका अधिंकाश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ ।
सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये सुनकोसी र भोटेकोसी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय सरकारअन्तर्गत रहेका सामुदायिक र निजी विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको हो ।
कोरोना कहरसँगै बाढी पहिरोको चपेटामा परेको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा समेत केही दिनदेखि शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा नियमित पठनपाठन सुरु गरिएको छ । डीसीसीएमसीले पठनपाठन सुरु गर्न औपचारिक रूपमा निर्णय नगरे पनि गाउँपालिकाले आफ्नो क्षेत्रमा पठनपाठन सुरु गरेका हुन् ।
लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा समस्या भएको भन्दै कतिपय गाउँपालिका र नगरपालिकाले विद्यालय सञ्चालन गर्न नभने पनि विद्यालय आफंैले विद्यार्थी बोलाएर पठनपाठन सुरु गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गतका सबै विद्यालयमा दुई सातादेखि नै भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएको नगरपालिकाका शिक्षा शाखाका अमित घिमिरेले बताए ।
‘हामीले औपचारिक रूपमा विद्यालय सञ्चालन गर्नु भनेको त छैन तर सबै विद्यालयले आफैंले निर्णय गरेर पढाउन थाल्नुभएको छ,’ नगरपालिकाका शिक्षा शाखाका घिमिरेले भने ।
सदरमुकाम चौतारामा रहेको कृष्णरत्न गंगा माविलगायत नगरभित्रका प्रायः सबै विद्यालय अहिले सञ्चालनमा छन् । बढीपहिरोबाट ठूलो भौतिक क्षति बेहोरेको मेलम्ची नगरपालिकाको शिक्षा शाखाले पनि १७ साउनदेखि शिक्षक अनिवार्य विद्यालयमा उपस्थिति हुन भनेको थियो । अहिले नगरभित्रका सबै विद्यालय आंशिक रूपमा सञ्चालन भएको शिक्षक रमेश चापागाईले जानकारी दिए ।
बाढी पहिरोको समस्यामा रहेको र अधिकांश विद्यालय आउने सडक बिग्रे पनि हेलम्बु गाउँपालिकामा पनि भौतिक उपस्थितमा नै बुधबारदेखि पठनपाठन सुरु गरिएको छ । लिसंखुपाखर गाउँपालिकामा पनि भौतिक रूपमा विद्यार्थी विद्यालयमा आउन सुरु गरेका छन् । ‘सिफ्टवाइज रूपमा पढाउनका लागि हामीले भनेका छौं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले भने । टिउसनका रूपमा पढाउनका लागि विद्यालयलाई भनेको र दिन बिराएर कक्षा सञ्चालन भइरहेको दुलालले जानकारी दिए ।
सिन्धुपाल्चोकको विकट गाउँपालिका त्रिपुरासन्दरी गाउँपालिकामा पनि भदौ १ देखि नै विद्यालय खुलेका छन् । सबै विद्यालय खुलेका छन् तर पहिलाको जस्तो बिहान १० देखि ४ सम्म पढाइ हुँदैन गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले भने बिहान १० देखि २ बजेसम्म एउटा सिफ्ट र २ देखि ४ सम्म अर्को सिफ्टमा पढाइ सञ्चालन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
भोटेकोसी गाउँपालिकामा भने विद्यालय सञ्चालन भएको छैन । केही दिनभित्रै विद्यालय सञ्चालन गर्ने योजनामा छौं गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले भनिन्, ‘अब भदौ १५ देखि नियमित रूपमा विद्यालय सञ्चालन हुन्छ होला ।’ सुनकोसी गाउँपालिकामा भने विद्यालय सञ्चालन भएको छैन । विद्यार्थीको भविष्य र स्वास्थ्यको समेत ख्याल गरेर के गर्न सकिन्छ अब बैठक बोलाएर निर्णय गरिने गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद)ले जानकारी दिए । शिक्षा समिति, वडा अध्यक्षहरू र वडा शिक्षा समितिसँग छलफल गरेर छिट्टै विद्यालय सञ्चालन गरिने अध्यक्ष जिसीले बताएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS