काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले रायो भाल्येकानोलाई ४–१ गोलले पराजित गरेको छ । सान्टियागो बर्नाबेउमा शनिबार राति भएको खेलमा रियलले पहिलो हाफमै तीन गोल गरेको थियो ।
रियलका लागि किलियन एम्बाप्पेले दुई गोल गरे भने अल्भारो कारेरास र जुड बेलिङ्घमले एक एक गोल गरेका थिए । एम्बाप्पेले १४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि कारेरासले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । ३५औँ मिनेटमा बेलिङ्घमले तेस्रो गोल गरेका थिए ।
दोस्रो हाफको ५१औँ मिनेटमा सर्जियो कामेलोले रायोका लागि गोल गर्दै अन्तर घटाएका थिए । त्यसपछि रायोले केही अवसर सिर्जना गरे पनि रियलले खेलमा नियन्त्रण कायम राखेको थियो । इन्जुरी समयको पहिलो मिनेटमा एम्बाप्पेले अर्को गोल गर्दै रियलको ४–१ को जित पक्का गरेका थिए ।
यससँगै एम्बाप्पेले जारी सिजनमा ६ खेलबाट सात गोल गरेका छन् । रियलले बर्नाबेउमा लगातार चौथो जितसमेत हात पारेको छ । जितपछि रियल १२ अंकसहित शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरीमा पुगेको छ ।