काठमाडौं । नेपालमा सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले नवौं ‘नेपाल जग्गा तथा आवास तथा निर्माण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ।
आयोजकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिएको हो। अंग्रेजी मितिअनुसार प्रदर्शनी सेप्टेम्बर १७ देखि २०, २०२६ सम्म सञ्चालन हुनेछ।
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पो नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) र नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएलएचडीएफ) को संयुक्त आयोजनामा हुन लागेको हो। नेपाल चेम्बर अफ कमर्सको ७५औं हिरक जयन्तीको अवसरमा चेम्बरको समेत सहकार्य रहने आयोजकले जनाएको छ।
एक्स्पोको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ। मेलाको टाइटल स्पोन्सर सीजी होल्डिङ्सअन्तर्गतको निजी प्रोपर्टिज, पावर्ड बाइ स्पोन्सर एशियन पेन्ट्स र इन्स्योरेन्स पार्टनर प्रभु इन्स्योरेन्स रहेका छन्। स्मार्ट पानी, केबी र यूएचएस होल्डिंग्स सहयोगी संस्थाका रूपमा रहेका छन्।
सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको एक्स्पोले भूकम्प, कोरोना महामारी तथा आर्थिक मन्दीजस्ता चुनौतीका बीच पनि निरन्तरता कायम राख्दै आएको आयोजकको भनाइ छ।

यसपटकको प्रदर्शनीमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी १०० भन्दा बढी स्टल रहनेछन्। आयोजकका अनुसार सबै स्टल बुकिङ भइसकेका छन्।
प्रदर्शनीमा अपार्टमेन्ट तथा संयुक्त आवास, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी सामग्री, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनसम्बन्धी आधुनिक प्रविधि प्रदर्शन गरिनेछ।
वातावरणमैत्री प्रदर्शनीलाई प्राथमिकता दिँदै डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी (VR/AR) प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ। यसका लागि प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने तयारी गरिएको छ।
बाढी प्रभावितलाई सहयोग
आयोजक संस्थाले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएको जनाएको छ।
रसुवा जिल्लामा हालै आएको बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकिएको आयोजकले जनाएको छ।
यस्तै, प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३१ लाख रुपैयाँ नगद हस्तान्तरण गरिएको जानकारी पनि दिइएको छ।
एक्स्पोमा भूकम्पप्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट अवलोकनकर्तालाई निःशुल्क परामर्श उपलब्ध गराइनेछ।
मेलास्थलमा रक्तदान कार्यक्रमका साथै ओम हस्पिटल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ। रसुवाका बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराइनेछ।
त्यसैगरी, जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) लगायतका विषयमा नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा आर्किटेक्टको सहभागितामा सेमिनार तथा प्यानल छलफल आयोजना गरिनेछ।
भर्खरै उद्यम सुरु गरेका तथा विभिन्न चुनौती सामना गरिरहेका युवालाई प्रोत्साहन गर्न एक्स्पोमार्फत युवा उद्यमी प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन गरिनेछ। खुला आह्वानमार्फत छनोट भएका युवालाई निःशुल्क तालिम तथा परामर्श प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकले बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेकाले उपभोक्तालाई घरजग्गा खरिद तथा लगानीसम्बन्धी उपयुक्त वित्तीय निर्णय लिन एक्स्पो उपयोगी हुने दाबी गरेको छ।
अवलोकनकर्ताले एक्स्पो भ्रमण गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। एक्स्पोमा उपभोक्ता, लगानीकर्ता, निर्माण व्यवसायी तथा सञ्चारकर्मीलाई सक्रिय सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।