काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नेपालमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबार संख्या १२.२५ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार २२.८८ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफलसमेत १५.४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो ।
चौथो त्रैमासमा घरजग्गाको कुल कारोबार रकम २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार रकम १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०८२/८३ को समग्र अवधिमा भने घरजग्गाको कुल कारोबार रकम ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त राजस्व पनि उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा यस्तो राजस्व ४८.२६ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर ६३.२२ प्रतिशतले वृद्धि भएको छ । यस्तै, घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ६.९३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

बागमतीमा सबैभन्दा बढी वृद्धि

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गा कारोबार सबैभन्दा तीव्र रूपमा बढेको छ । चौथो त्रैमासमा बागमतीमा राजीनामा कारोबार संख्या ६९.३८ प्रतिशतले बढेको छ । कारोबार भएको क्षेत्रफल ५०.२४ प्रतिशतले र कारोबार रकम १७५.३३ प्रतिशतले वृद्धि भएको छ ।
यसको विपरीत मधेश प्रदेशमा घरजग्गा कारोबार संख्या ३.४४ प्रतिशतले र कारोबार भएको क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ ।
महानगरपालिकातर्फ काठमाडौँमा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ । ललितपुरमा १३६.९२ प्रतिशत र पोखरामा १०८.७१ प्रतिशत वृद्धि भएको छ ।
उपमहानगरपालिकातर्फ हेटौँडामा कुल घरजग्गा कारोबार रकम १८६.८० प्रतिशतले बढेको छ ।
समग्र तथ्यांकले आर्थिक वर्ष २०८२/८३ को पछिल्लो त्रैमासमा घरजग्गा बजारमा कारोबार संख्या, कारोबार रकम, कारोबार क्षेत्रफल तथा सरकारको राजस्व संकलनमा उल्लेख्य सुधार आएको देखाएको छ ।