एजेन्सी । म्याड्रिड, स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो ‘म्याड्रिड डर्वी’ मा रियल म्याड्रिडले बाजी मारेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले एट्लेटिको म्याड्रिडलाई २–० गोलले हरायो ।
रियलको सहज जितमा कप्तान करिम बेन्जेमा र मार्काे असेन्सियोले गोल गरे । रियलले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । १६औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियलको उत्साह जगाएका थिए । जारी सिजन उच्च लयमा रहेका बेन्जेमाको यो १३औं गोल हो । उनी सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षसुचीमा छन् । दोस्रो स्थानमा रहेका भिनिसियसले १० गोल गरेका छन् ।
त्यसपछि ५७औं मिनेटमा असेन्सियोले भिनिसियस जुनियरकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ६१ प्रतिशत बल पोसेसन राखेको रियलले थप गोल गर्ने अवसर गुमाएपनि सहज जित निकाल्यो । यता ३९ प्रतिशत बल पोसेसन राखेको एट्लेटिकोले नौ वटा पोस्ट् प्रहार गरेपनि गोलरहित हार खेप्यो । रियलका भिनिसियस जुनियर ‘म्यान अफ दी म्याच’ घोषित भए ।
जितसँगै रियलले उपाधि दौड थप बिलयो बनाएको छ । शीर्षस्थानमा रहेको रियलको १७ खेलबाट ४२ अंक पुगेको छ । रियल दोस्रो स्थानमा रहेको सेभियाभन्दा आठ अंकले अगाडी छ । एक खेल कम खेलेको सेभियाको ३४ अंक छ । पराजित एट्लेटिको २९ अंक सहित चौथो स्थानमा छ ।
आइतबार रातिनै भएको अर्को खेलमा बार्सिलोना ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले अंक बाँडेको हो । बार्सिलोनाका लागि निको गोन्जालेजले १२औं र र अब्देसामद इजालजौलीले ४९औं मिनेटमा गोल गरे । घरेलु टोली ओसासुनाका डेभिड गार्सियाले १४औं र चिमी एभिलाले ८६औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
बराबरीसँगै २४ अंक बनाएको बार्सिलोना आठौं स्थानमा छ । २२ अंक बनाएको ओसासुना १०औं स्थानमा छ । अर्को खेलमा रियल बेटिसले रियल सोसिडाडलाई ४–० गोलले हरायो । घरेलु मैदानमा फराकिलो जित निकालेको बेटिस तेस्रो स्थानमा छ । बेटिसले १७ खेलबाट ३३ अंक बनाएको छ । पराजित सोसिडाड २९ अंक सहित पाँचौं स्थानमा छ । अर्को खेलमा भिल्लारियलले रायो भालेकानोलाई २–० गोलले पराजित गरेको छ ।
विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।
ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।
त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।
FACEBOOK COMMENTS