काठमाडौं । नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
साबिक मिथलेश्वर महुवाही वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९ अन्तर्गत पर्ने स्ववासी जग्गाको नापजाँच आ.व. २०७२/०७३ मा सम्पन्न भएको थियो ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो ।
विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३१० थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाले जनाएको छ ।

पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उक्त परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।