नेपालगञ्ज । नेपाल रेडक्रम सोसाईटीले गर्मीबाट स्थानीयलाई बचाउन नेपालगञ्जमा ‘कुलिङ सेन्टर’ स्थापना गर्ने भएको छ ।
गर्मीबाट हुने लु लगायतका विपद् व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सो सेन्टर स्थापना गर्ने कामलाई अघि बढाएको हो ।
बालबालिबालिका, बुढाबुढी र रोगी मानिसहरूलाई गर्मीबाट हुने जोखिम टार्नका लागि नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा सो कुलिङ सेन्टर स्थापना गर्ने तयारीको कामलाई अन्तिम चरणमा पुर्याइएको रेडक्रसका विपद् व्यवस्थापन निर्देशक सागर श्रेष्ठले बताए ।
अहिले रेडक्रसले सबैभन्दा बढी गर्मी हुने देशका मुख्यमुख्य शहरहरू नेपालगञ्ज, भैरहवा, धनघढी र विराटनगरमा गर्मीबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले ‘हिट एक्सन प्लान’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । त्यसैगरी गर्मीमा खानेपानीको अभाव हुन नदिन नेपालगञ्ज र भैरहवामा निःशुल्क वाटर एटीएमको पनि व्यवस्था गरिएको रेडक्रसका विपद् व्यवस्थापन विभागका निर्देशक श्रेष्ठले जानकारी दिए ।
रेडक्रसले तराईको अधिकांश जिल्लाहरूमा गर्मीले निम्त्याउने विपद व्यवस्थापनको क्षेत्रमा काम गर्ने योजना पनि तय गरिएको जनाएको छ । विपद् व्यवस्थापन विभागका अनुसार त्यसको लागि स्रोतको खोजी गर्ने काम भइरहेको छ । रेडक्रसले सन् २०२१ देखि गर्मीबाट हुने जोखिम न्युनिकरणको क्षेत्रमा पनि काम गर्दै आएको छ ।
FACEBOOK COMMENTS