पोखरा कार्तिक १६ , गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मानवीय सेवामा रेडक्रसको भूमिका प्रशंसनीय रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री थापाले समाज सेवामा रेडक्रसले उल्लेखनीय काम गरेको बताए ।
उहाँले भने, ‘समाजमा रेडक्रसको भूमिका महत्वपूर्ण छ । जहाँ दुख छ,त्यहाँ रेडक्रस पुग्ने गरेको छ । परोपकारी संस्थाको रुपमा रेडक्रस परिभाषित छ ।
भूकम्पका बेला होस् या अन्य प्राकृतिक विपतका समयमा रेडक्रस सधैं अग्रपंक्तिमा रहेको नकार्न सकिँदैन ।’
मन्त्री थापाले कोभिडका समयमा सबै क्षेत्र ठप्प हुँदा एम्बुलेन्स सेवा र रगत अभावलाई परिपूर्ति गर्न रेडक्रसले पुर्याएको योगदानलाई प्रशंसा गरे । उनले भने, ‘हरेक क्षेत्र ठप्प हुँदा पनि रेडक्रस समाज सेवामा लागिरहयो । सबै कोरोनाबाट डराए तर रेडक्रसलाई मानवीय सेवामा समर्पित भएको देखियो । महामारीमा एम्बुलेन्स सेवामा समस्या हुँदा समाधान भएर रेडक्रस उभियो । रगत अभावसमेत हुन दिएन । हाल केही हदसम्म भएको कोरोना नियन्त्रणमा रेडक्रसको भूमिका प्रशंसनीय छ ।’
प्रदेश सरकारले रेडक्रसलाई निरन्तर रुपमा सहयोग गर्दै आइरहेको र आगामी समयमा पनि गरिरहने प्रतिबद्धता उनको छ । मन्त्री थापाले रेडक्रसले पोखरा ८ सिर्जनाचोकमा बनाउँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंकका लागि आवश्यक भवन निर्माणमा देखिएका समस्यालाई सम्बोधन गर्ने बताए । उनले निर्माणाधीन अवस्थामा रहेको भवन आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने भएकाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट केही बजेट विनियोजन गर्ने र अन्य आवश्यक स्रोत साधनका लागि सम्बन्धित मन्त्रालयसँग समेत पहलकदमी गरिदिने बताए ।
रेडक्रस सोसाइटी गण्डकीका सभापति सूर्य ढकालले विपतका समयमा काम गर्ने संस्था रेडक्रस सरकारको साझेदार भएको उल्लेख गरे । उनले शिक्षा, स्वास्थ्य, खानेपानीको क्षेत्रमा रेडक्रसले काम गरिरहेको जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले २०२२ सालमा झोलाबाट सञ्चालन भएको रेडक्रस क्रियाशीलताका आधारमा आज यहाँसम्म आइपुगेको बताए । उनले नागरिकलाई सरल रुपमा थप सेवा प्रवाह गर्न कास्की रेडक्रसले स्रोत साधनको उपलब्धतालाई थप विबस्तार गरिरहेको बताए ।
FACEBOOK COMMENTS