काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्मा फेरि प्रश्न उठेको छ ।
नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के हो भनी सोधेकी हुन् ।
देशलाई सम्पत्ति शुद्धीकरणको ‘ग्रेलिस्ट’ बाट मुक्त गर्दै अर्थतन्त्रको सबलीकरण गर्नुपर्ने अवस्थामा गभर्नर सिफारिस समितिकै सदस्यले राजीनामा दिइरहेको भन्दै उनले यथाशीघ्र नियुक्ति गर्न माग गरेकी हुन् ।
‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय संसद्भित्र, संसद्बाहिर, मिडिया सबैतिर चर्चा हुन थालेको पनि लामो समय भयो । र, यो बीचमा हामी सबैले छलफल गरिरहेका छौँ,’ सांसद शर्माले भनिन्, ‘देशलाई ‘ग्रेलिस्ट’ बाट मुक्त गर्नुपर्ने छ, देशको अर्थतन्त्र सबलीकरण गर्नुपर्ने छ । तर पनि गभर्नरको नियुक्ति नभएर ‘सर्च कमिटी’ कै सदस्यले राजीनामा दिएको भन्ने विषय बाहिर आइरहेको छ । यस्तो अवस्थामा यो दुई तिहाइको यति बलियो सरकारले एउटा गर्भनर नियुक्त गर्न नसक्नुको कारण के हो ?’
उनले गभर्नर नियुक्तिमा देखिएको दलगत स्वार्थले राष्ट्रकै बेइज्जती भएको भन्दै सक्षम र योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्नेमा जोड दिइन् ।
‘गभर्नर नियुक्तिको विषयमा बाहिर जुन स्थिति देखा परिरहेको छ, जुन चर्चा बाहिर भइरहेको छ, सरकारमा आबद्ध दलहरूको दलगत स्वार्थ नमिलेर अथवा अरू विभिन्न कारणले गर्दा गभर्नर नियुक्ति हुन सकिरहेको छैन भन्ने जुन कुरा बाहिर आइरहेको छ, यसले राष्ट्रकै बेइज्जती भइरहेको छ,’ उनले भनिन्, ‘त्यसकारण राष्ट्रको बेइज्जती नगर्न र सक्षम, योग्य व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS