काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताइन् ।
ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फुल्चोकी माध्यमिक विद्यालयको ६४औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुँदै मन्त्री शर्माले स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनपर्नेमा जोड दिइन् ।
उनले भने, “जुन पालिकाका जनप्रतिनिधि लक्ष्यसहित आएका छन्, उनीहरुले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर राम्रो बनाएका छन् । केहीमा अझ बिग्रेको गुनासो पनि अभिभावकले गरिरहेका छन् । सबै स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनु आवश्यक छ ।”
मन्त्री शर्माले शैक्षिक गुणस्तर वृद्धिका लागि सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । विद्यालय तहका विद्यार्थीमा सूचना प्रविधिको दुरुपयोग बढ्ने खतरा पनि उत्तिकै रहेकाले यसतर्फ सचेत हुन पनि उनले सबैलाई आग्रह गरिन् । पछिल्लो समय समाजमा फेरिएको चेतनासँगै सामुदायिक विद्यालय राम्रा बनाउने र आफ्ना छोराछोरी त्यसमै पढाउने क्रम बढ्दै जानु सकारात्मक भएको उल्लेख गर्दै मन्त्री शर्माले समाजका अगुवाले यसमा अझै मेहेनत गर्न आवश्यक रहेको बताइन् ।
“कुनै बेला सामुदायिक विद्यालयमा गरिबका छोराछोरीले मात्र पढ्छन् भनेर हेप्ने गरिन्थ्यो, विस्तारै सामुदायिक विद्यालयप्रतिको आकर्षण बढिरहेको छ, यसलाई अझै बढाउँदै लैजानुपर्छ, ”, उनले भनिन् ।
FACEBOOK COMMENTS