काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आगामी बिहीबार (असार २७ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्दैछ ।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ९० करोड रूपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
सर्वसाधारण समूहका लागि निष्कासन हुने १९ लाख २६ हजार ६०० कित्ता शेयरबाट ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिसकिएको छ भने बाँकी ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत अर्थात् एक लाख १५ हजार ५९६ कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आवेदन खुला गर्न लागिएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
बिक्री प्रबन्धकका अनुसार उक्त शेयर आगामी बिहीबारदेखि आवेदन खुला हुने छ भने आगामी साउन १० गतेसम्ममा आवेदन दिइसक्नुपर्ने छ ।
रिलायन्स स्पिनिङको यो आईपीओमा न्यूनतम ५० कित्ता तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले मूल्य कायम भएको यो कम्पनीको शेयरमा आवेदन दिन न्यूनतम पनि ४१ हजार ४० रूपैयाँ चाहिन्छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कसरी निर्धारण भयो मूल्य ?
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रूपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रूपैयाँ ८० पैसा कायम भएको हो ।
कम्पनीको प्रतिशेयर अङ्कित मूल्य १०० रूपैयाँ रहेको छ । यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रूपैयाँ ८० पैसा रहेको छ । अर्थात् लगानीकर्ताले प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ ।
बुक बिल्डिङ विधिबाट कम्पनीको आईपीओ जारी हुन लागेकाले मूल्य महङ्गो पर्नाका साथै न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएको हो । बुक बिल्डिङ विधि अनुसार आईपीओ निष्काशन हुँदा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्छ भने शेयर बाँडफाँड गर्दा पनि एक आवेदकलाई न्यूनतम ५० कित्ता बाँडफाँड गर्नैपर्ने व्यवस्था छ ।
इक्राको रेटिङ कस्तो ?
कम्पनीले शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रूपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझाउँछ ।
कस्तो छ कम्पनी ? के हो रिलायन्स मिल्स ?
औद्योगिक व्यवसाय ऐन २०४९ बमोजिम बि.स. २०५१ साल चैत ६ गते स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेड सुनसरीको इटहरी नगरपालिका–१२ खनारमा अवस्थित छ । रिलायन्स धागो उत्पादन गर्ने नेपालकै ठूलो उत्पादनमूलक उद्योग हो । यसले बि.स. २०५४ साउनदेखि निरन्तर रूपमा धागो उत्पादन गर्दै आएको छ । अधिकृत पुँजी दुई अर्ब ६० करोड, जारी पुँजी एक अर्ब ९० करोड र चुक्ता पुँजी एक अर्ब ७१ करोड रूपैयाँ रहेको रिलायन्स स्पिनिङमा देशकै प्रतिष्ठित औद्योगिक घराना गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानी र सुरपरीवेक्षण छ ।
पवन गोल्यन अध्यक्ष र शशीकान्त अग्रवाल सञ्चालक रहेको रिलायन्सको मुल उद्योग ‘ए’ खनार र शाखा उद्योग ‘बी’ इटहरी नगरपालिका–४ दुहबीमा छ । ६ वटा युनिटमार्फत ८० हजार रिङ स्पिन्डल्स र भोर्टेक्स प्लान्ट गरी जम्मा एक लाख २७ हजार स्पिन्डल्ससहित युनिट ‘बी’ डाइङ र अन्य सहायक प्लान्टहरूमार्फत वार्षिक रूपमा ४८ हजार ९६० मेट्रिक टन धागो उत्पादनको क्षमता यो उद्योगसँग छ ।
एउटै छानोमुनि धेरै रोजगारी सृजना गर्ने उद्योगको रूपमा समेत चर्चा पाइरहेको रिलायन्स मिल्समा एक हजार ५५० जना महिलासहित चार हजार जना नेपाली नागरिकले प्रत्यक्ष रोजगारी गरिरहेका छन् भने परोक्ष रूपमा पाँच हजार भन्दा बढीले रोजगारी पाएका छन्
कुल उत्पादनमध्ये स्वेदेशमा ३० प्रतिशतसम्म खपत भइरहेको छ भने बाँकी करिब ७० प्रतिशत भारत र टर्कीलगायत विभिन्न देशमा निर्यात हुने गरेको छ । मुलुकको कुल निर्यातमध्ये आर्थिक वर्ष २०७७/०७८ मा ४%, २०७८/०७९ मा ३% र २०७९/८० मा ४.६१% योगदान रिलायन्सले गरेको छ । धेरै संख्यामा रोजगारी सृजना गरेको तथा निर्यातमा योगदान पुर्याएको भन्दै रिलायन्सलाई सरकारले ‘सीआईपी’ अवार्डद्वारा सम्मान समेत गरिसकेको छ ।
स्वदेशी उनी धागोको लगभग ८०% माग धानेको यो उद्योगले हाल बजारको मागबमोजिम सिङ्गल, डबल धागोहरू जस्तैः पोलिस्टर, भिसकोस, एक्रेलिक, भोर्टेक्स र डायड यर्न (रङ्गिएको धागो)हरू उत्पादन गर्दै आएको छ । यो उद्योगले भारतलगायत विभिन्न मुलुकबाट आयात गरिएको पोलिस्टर, भिसकोस, एक्रेलिक, कटन र स्वदेशी अल्लोलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्दै आएको छ ।
एउटै छानोमुनि धेरै रोजगारी सृजना गर्ने उद्योगको रूपमा समेत चर्चा पाइरहेको रिलायन्स मिल्समा एक हजार ५५० जना महिलासहित चार हजार जना नेपाली नागरिकले प्रत्यक्ष रोजगारी गरिरहेको छन् भने परोक्ष रूपमा पाँच हजार भन्दा बढीले रोजगारी पाएका छन् । कार्यरत श्रमिकमध्ये लगभग दुई हजार जना रिलायन्सले प्रदान गरेको सामुहिक तथा पारिवारिक आवसमा निःशुल्क बसोबास गर्दै आएका छन् । केही उच्चदक्षबाहेक सबै खालका जनशक्ति नेपालकै खपत भइरहेको उद्योगले जनाएको छ । यो उद्योगले श्रमिक र कर्मचारीको तलवका लागि प्रतिमहिना ६ करोड ५० लाख रूपैयाँ भुक्तानी गर्दै आएको छ ।
यो उद्योगले आर्थिक वर्ष २०७७/०७८ मा ८९ करोड पाँच लाख, २०७८/०७९ मा एक अर्ब चार करोड र आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब एक करोड रूपैयाँ नाफा कमाएको थियो । उल्लेखित आर्थिक वर्षहरूमा क्रमशः चार महिना, ५.३० महिना र ४.५ महिनासम्मको बोनस श्रमिक कर्मचारीहरूलाइ वितरण गरिएको कम्पनीले जनाएको छ । यो उद्योगमा विभिन्न ट्रेड युनियन महासंघमा आबद्ध भएका प्रतिष्ठानस्तरका त्रियाशील चारवटा ट्रेड युनियन पनि छन् ।
हाल नेपाल विद्युत् प्राधिकरणबाट १४ मेगावाट क्षमताको विद्युत् प्रयोग गरिरहेको यो उद्योगले दैनिक दुई लाख ५० हजार युनिट विद्युत् उपभोग गर्छ भने प्रतिमहिना सरदर ६ करोड रूपैयाँ महसुल भुक्तानी गर्दै आएको छ । प्राधिकरणसँग स्वीकृति लिएर १४ मेगावाट विद्युत् उपभोग गरिरहेको भए पनि विभिन्न बहानामा हुँदै आएको विद्युत् कटौतीले उद्योग आजित छ । त्यसकारण उसले १० मेगावाटका डिजल/एफओबाट सञ्चालन हुने ११ जेनेरेटर र चार टन बोइलर प्लान्टको व्यवस्था गरेको छ । साथै उद्योगले सोलार प्लान्ट समेत निर्माण गरिरहेको छ ।
यो अन्तर्वार्ता पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS