काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले ३० प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने भएको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गरेको उक्त निर्णय आगामी असोज २२ गते बस्ने साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
एक अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको रिलायन्सले ३० प्रतिशतको दरले हुन आउने ५७ करोड रुपैयाँ वितरण गर्नेछ । सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण समेत पारित गरेको छ ।
लाभांश वितरणलगायत निर्णय गर्नका लागि कम्पनीले आगामी असोज २२ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा साधारणसभा बोलाएको छ ।
साधारणसभा प्रयोजनको लागि आगामी असोज १४ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरिने कम्पनीले जनाएको छ ।

“नेप्सेमा २०८३ असोज १३ गतेसम्म कारोबार भई सेयर खरिद गरी आफ्नो नाममा नामसारी भई आएका सेयरधनीहरू साधारणसभामा भाग लिन र निर्वाचनमा सहभागी हुन योग्य हुनेछन्न्,” रिलायन्सले भनेको छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको रिलायन्स स्पिनिङ मिल्स नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी हो । वार्षिक ५० मिलियन अमेरिकी डलरबराबरको निर्यात गर्ने कम्पनीमा करिब चार हजार कामदार कार्यरत छन् ।
कम्पनीले सुनसरीको खनार र दुहबीमा रहेका दुईवटा धागो कारखानाबाट कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् ।