काठमाडौं । देशका यूवा जनशक्तिजति धमाधम वैदेशिक रोजगारीमा जान थालेपछि मुलुकमा भित्रने विप्रषण (रेमिट्यान्स) आप्रवाहमा समेत सोही अनुसारको सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महीना अर्थात फागुन मसान्तसम्ममा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम गत आर्थिक वर्षको तुलनामा २१ प्रतिशतले धेरै हो । यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ ।
विसं २०७९ फागुनमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको थियो । उक्त अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । चालु आवको माघसम्ममा २१.६० प्रतिशतले वृद्धि हुँदै नेपालमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । पछिल्लो महीनामा फागुनमा मात्रै १ खर्ब २२ अर्ब रुपैयाँले रेमिट्यान्स बढेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ५१ हजार ७६१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९२ हजार ५५९ रहेको थियो । समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ६४ हजार ८२९ र पुनः श्रम स्वीकृति लिनेको संख्या८ हजार २८१ ले घटेको हो ।
२०८० फागुन मसान्तसम्म समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेर ८खर्ब ७६ अर्ब ७ करोड पुगेको थियो ।
FACEBOOK COMMENTS