काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।
फागुन महिनामा १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ आएको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाहमा सुधार देखिएको छ । यस अवधि डलरमा रेमिट्यान्स ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ। गत वर्ष यस्तो वृद्धि दर ७.१ प्रतिशत मात्र थियो ।
यसैगरी, यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिमा ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।
वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको छ । आठ महिनामा संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ७३ हजार ५३६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ ।

FACEBOOK COMMENTS