काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा विप्रेषण कम्पनीहरूको इजाजतपत्र खारेज गरेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विप्रेषण कारोबार गर्न इजाजतपत्रप्राप्त तीन वटा कम्पनीको इजाजतपत्र खारेज गरेको जनाएको छ । खारेजी हुनेमा नमस्ते रेमिट इन्टरनेशनल, मोडर्न रेमिट्यान्स र भाटभटेनी मनि ट्रान्सफर प्रालि रहेका छन् ।
नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम-१३ को उप-विनियम (५) बमोजिम खारेज हुने देखिएको जनाएको छ ।
विप्रेषण कारोबारको सिलसिलामा यी तीन कम्पनीसँग कुनै व्यक्ति वा संघ संस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो ३५ दिनभित्र लिखित जानकारी दिन भनेको छ । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त नभएमा विप्रेषण कम्पनीहरूको बैंक जमानत फुकुवा हुने जनाएको छ ।
खारेज हुने तीन विप्रेषण कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाबमिलान हुने ब्यहोरा जानकारीको लागि अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS