काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार गत आर्थिक वर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष १२ खर्ब ४० अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष मासिक १ खर्ब २० अर्ब रूपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आर्थिक वर्षको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्ष अमेरिकी डलरमा १३.९ प्रतिशत धेरै भित्रिएको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।
FACEBOOK COMMENTS