काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका विभिन्न मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ र मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले लगायतको टोलीले बुंमती, लेले, नल्लु र ठेचो क्षेत्रका मतदान केन्द्रमा पुगेर निर्वाचन तयारी तथा सुरक्षा अवस्थाबारे जानकारी लिएको हो ।
निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले शान्ति सुरक्षा मजबुत बनाइएको बताउँदै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे ।
उनले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै मतदान अधिकृत र सुरक्षाकर्मीलाई आफू सुरक्षित रही मतदान स्थल र मतपेटिका सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए । कुनै पनि गैरकानूनी गतिविधि भएमा दोषीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गरिने उनको भनाइ थियो ।
गृहमन्त्री अर्यालले स्थानीय मतदातासँग छलफल गर्दै समग्र अवस्थाबारे जानकारी लिनुका साथै निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्न आग्रह गरे । अनुगमनपछि उहाँले शान्तिपूर्ण मतदान हुने र ठूलो संख्यामा नागरिक सहभागी हुने विश्वास व्यक्त गरे ।

यसअघि मन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोलीले बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाको निरीक्षण गरेको थियो त्यस्तै मन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले दोलखा, ओखलढुंगा, मोरङ, रौतहट र पर्सामा जिल्ला सुरक्षा समिति, राजनीतिक दल र सरोकारवालासँग छलफल गरेको थियो ।

गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको दैनिक बैठकमार्फत निर्वाचनसम्बन्धी गतिविधिको समीक्षा, रणनीति निर्माण र जनशक्ति परिचालनलाई प्रभावकारी बनाइएको जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अन्तर्गत मतदान अघिदेखि मतपत्र ढुवानी र परिणाम घोषणा सम्मका सम्पूर्ण काम सुरक्षित र व्यवस्थित ढंगले अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ।

FACEBOOK COMMENTS