चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छिन् ।
प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरेकी हुन् ।
महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित नहुन परोस् भनेर अटिजम विद्यालय, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको प्रमुख दाहालले बताइन् ।
यस्तै, बुवा–आमा नभएका बालबालिकालाई सडकसम्म नआउन दिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी नि:शुल्क अध्ययनको व्यवस्था मिलाउने गरी महानगर र विद्यालयबीच सम्झौता भएको उनको भनाइ छ ।
प्रमुख दाहालले प्रहरी नागरिक साझेदारी अभियान नेपाल (पिटुसिटु)ले सडकमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरी पुन:स्थापन गर्ने काम गरेकोप्रति उच्च प्रशंसा गरिन् । ‘राज्यले एक्लै गर्नुपर्ने कार्य सबैको साथ सहयोगबाट भएको छ, उनले भनिन्, ‘भरतपुर महानगरबाट ठूलो सहयोग भएको छैन् । संवेदनशील र अवस्था अनुसार अझै बढी सहयोग गर्नुपर्छ । यहाँहरु खुसी भए पनि म भने खुसी छैन ।’ प्रमुख दाहालले पीटूसीटूको विकासका लागि आगामी दिनमा महानगर तत्पर र अग्रसर रहने प्रविद्धता व्यक्त गरिन् ।
महानगरपालिकाले पिटुसिटुमा रहेका विगत ३ वर्षदेखि वार्षिक रुपमा प्रति बालबालिका रु ४० हजार सहयोग गर्दै आईरहेको छ । नेपालमै पहिलो पटक प्रहरी नागरिक साझेदारीमा ७ वर्षअघि सञ्चालनमा ल्याएको केन्द्रमा हाल ९ जना बालबालिका आश्रित छन् । भरतपुर महानगरपालिकाले यहाँका सुधार गृह तथा पुन:स्थापना केन्द्रलाई नियमन गर्न उपप्रमुखको संयोजकत्वमा कार्यविधि र मापदण्ड निर्माण गरी काम गर्दै आइरहेको प्रमुख दाहालले जानकारी दिइन् ।
FACEBOOK COMMENTS