काठमाडौं । मूलधारको सञ्चारमाध्यम सेतोपाटी अनलाइनले चितवन निर्वाचन क्षेत्र नं. ३ की उम्मेदवार रेणु दाहालले ‘निर्वाचन हार्दैछिन्’ भन्ने आशयको समाचार लेखेपछि प्रचण्डपुत्री रेणु दाहालले आपत्ति जनाएकी छिन् ।
मतदातालाई प्रभावित तुल्याउने उद्देश्यबाट प्रेरित भइ मत सर्वेक्षणका रूपमा प्रकाशित/प्रशारित समाचार निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै उनले आइन्दा यस्ता समाचार नलेख्न सम्बन्धित सञ्चारमाध्यमलगायत सबैलाई आग्रह गरेकी छिन् ।
‘मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रशारित भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ दाहालले भनेकी छिन्, ‘यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन/प्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्छु ।’
आइतबार सेतोपाटी अनलाइनले ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ शीर्षकमा विस्तृत समाचार प्रकाशित गरेको थियो । तर, उक्त समाचार पत्रकार आचारसंहिताविपरीत समेत भएको भन्दै आलोचना भइरहेको छ । ‘मिडियाले नै निर्वाचनमा हारजित गराउने भए यत्रो खर्च गरेर किन निर्वाचन गराउनू ? बरु सेतोपाटीलाई नै यो सबै जिम्मा दिउँ’ भन्दै उक्त समाचार सामग्रीको तीव्र आलोचना भइरहेको छ ।


चितवन निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका टेक प्रसाद गुरुङ, नेकपा एमालेका शंकरराज थपलिया, नेपाल कम्युनिष्ट पार्टीकी रेणु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा मगरसहित २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

रेणुको प्रतिक्रिया जस्ताकोत्यस्तै–

यतिबेला म चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु । यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ ।
भरतपुर महानगरपालिका मा ९ वर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा, मेरो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज यस्तो अपार स्नेह पाउन सकेको अनुभूति गरेको छु ।
निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा म स्पष्ट छु । तथापि, मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउनुहुनेछ भन्ने उच्च मनोबल पनि राखेको छु ।
यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन/प्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।
लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दछु ।