काठमाडौं । इरानबाट उद्धार गरिएका २ जना नेपाली नागरिक भारतको दिल्ली आइपुगेका छन् ।
नेपाली राजदूतावासका अनुसार गणेशप्रसाद पोखरेल र सुमन गैरे मंगलबार दिउँसो नयाँदिल्ली आइपुगेका हुन् । दूतावास र भारतीय विदेश मन्त्रालयले उनीहरूलाई विमानस्थलमा ‘रिसिभ’ गरेका थिए । दुवै जना बुटवलका रहेको पनि दूतावासले जानकारी दिएको छ ।
दूतावासले दुवै जना काठमाडौंका लागि उडिसकेको जनाएको छ । इरानबाट ११ जना नेपालीले नेपाल फर्किन अनुरोध गरेकोमा पहिलो चरणमा दुई जनाको उद्धार गरिएको हो । नेपाल आउन चाहेका सबैजना आइतबार राति नै तेहरानबाट मसद पुगिसकेका छन् ।
भारतले आफुले आफ्ना नागरिकको उद्धारका लागि चलाएको अप्रेशन सिन्धु अन्तर्गत नेपाल र श्रीलंकाका नागरिकको पनि उद्धार गर्ने यस अघि जानकारी दिएको थियो । भारतीय विदेश मन्त्रालयले इरानको मसदबाट विशेष विमानमार्फत २८१ भारतीयसहित श्रींलकाका ३ र नेपालका २ जनाको उद्धार गरिएको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS