काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् ।
आज बुधबवार काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले टिकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताएका हुन् ।
उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्याउनु अपराध हो र ? प्रश्न गर्दै भने, ‘सबैभन्दा पहिला टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त मिलाउनुपर्छ । हाम्रो के अपराध थियो । जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ? घाइतेलाई उठाएर उपचार गर्नेले आठ वर्षसम्म जेलको कालकोठीमा सड्नुपर्ने ? अब जाक्नेवालाको खोजिनीति गर्नुस् । घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ । टिकापुरको अब नाम भन्ने बेला आएको छ ।’
साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको उनले बताएका छन् । ‘साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनिदिने ? महाधिवेशन नै नगर्ने पार्टीहरु वैध, पुसको कठ्याङ्ग्रिने जाडोमा जनताहरु आएर गरेको महाधिवेशन अवैध ?’ उनले प्रश्न गरे ।
अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको उनको भनाइ छ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS