काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ सुरू भएको छ।
आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सुरू भएको हो। यसअघि गत आइतबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको थियो।
प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा चौधरीले दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले माघ ९ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए।
माघ ८ गते निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको थियो। ‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिँदा खारेज गरिदिएको छ। कानून बमोजिम गर्नु,’ निर्वाचन अधिकृतले गरेको निर्णयमा उल्लेख छ।
FACEBOOK COMMENTS