कोरोना महामारी सुरु हुनु अगाडि नेपालमा उत्साहजनक रूपमा पर्यटक आगमन बढ्न थालेको थियो ।
तीनै तहको चुनाव सकिएको, राजनीतिक माहोल राम्रो हुँदै गएको परिस्थितिले पर्यटनमा सकारात्मक सन्देश प्रवाह हुँदा गतिविधि पनि बढेको थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको हुँदा पर्यटन क्षेत्रको माहोल देश विदेशसम्म सुरु भइसकेको थियो । निजी क्षेत्रमा उत्साह थपिएको थियो भने देश विदेशबाट नेपालमा घुम्न आउने, एकपटक आइसकेकाहरू दोहोर्याएर आउने वातावरण बनेको थियो ।
सन् २०१९ मा पर्यटक आगमन उत्साहजनकरूपले बढेको थियो । त्यतिबेला १२ लाख पर्यटक नेपाल आएका थिए । ३२ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले नेपालमा उडान सुरु पनि गर्न थालिसकेका थिए । पर्यटन ल्याउन ३५ भन्दा बढी विदेशी गन्तव्यबाट स्वदेशी तथा विदेशी वायुसेवा नेपालसँग जोडिएका थिए । पर्यटन क्षेत्रले पाएको रोजगारी पनि उत्साहप्रद नै हुन थालेको २०१९ को तथ्यांकले देखाउँछ ।
त्यतिबेला संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको तथ्यांकलाई आधार मान्ने हो भने पर्यटन क्षेत्रबाट करिब १० लाखले रोजगारी पाएका थिए । रोजगारी, पर्यटक आगमन, पर्यटनमा बढ्दै गएको लगानी, निजी क्षेत्रको उत्साह थपिंदै थियो । सरकारी क्षेत्रले गरेको समन्वय तथा प्रवद्र्धनका कारण पर्यटनले गति लिन सुरु गरेको बेला कोरोना महामारी फैलियो । यसले पर्यटन उत्साह तथा आगमन करिब शून्यमा नै झारिदियो ।
नेपालले पर्यटकलाई सेवा दिन थालेको ५० औं वर्षपछि अहिले पुनः शून्यबाट विस्तारै उठ्न थालेको छ । महामारीले पर्यटन आगमन ९० प्रतिशतसम्म घट्न पुग्यो । पर्यटन चलायमान भइरहनुपर्ने क्षेत्र हो । तर, यो क्षेत्रमा परेको नकारात्मक असार अहिलेसम्म परिरहेको छ । महामारीले दुई वर्ष थलिएको पर्यटन विस्तारै उठ्ने प्रयत्न गर्दै छ । यसका लागि सरकारी, निजी क्षेत्रको समन्वय मिल्नुपर्छ ।
महामारीले पारेको सबैभन्दा ठूलो प्रभाव भनेको करिब २२ प्रतिशत पर्यटन व्यवसायी पुनः यो क्षेत्रमा नफर्कने गरी बाहिरिए । महामारीपछि पर्यटक आगमन ठप्प हुँदा र लामो समय आम्दानीको स्रोत सुक्दा ८० प्रतिशतभन्दा बढी व्यवसायीको दैनिकी सञ्चालनमा नै समस्या भयो । व्यवसायीले जसोतसो ऋणमा काम चलाए । तर, धेरै मजदुर भने यो क्षेत्रबाटै विस्थापित हुनुपर्ने बाध्यता सृजना हुनु चाहीँ विडम्बना हो ।
चुनौती
पर्यटन क्षेत्रका ९० प्रतिशतभन्दा बढी मजदुर महामारीबाट प्रभावित हुन पुगे । लामो समयको अध्ययन र अनुभवबाट खारिएर आएको जनशक्ति विस्थापित हुनु यो उद्योगको लागि पक्कै राम्रो होइन । अहिले विस्तारै पर्यटन ‘रिभाइभ’ हुँदै जाँदा पर्यटनका ती जनशक्ति पुनः फर्किएर आउने वातावरण बनाउनु यो क्षेत्रको लागि सबैभन्दा महत्वपूर्ण चुनौति हो ।
पर्यटन क्षेत्र छिट्टै पुनस्र्थापना भए पनि ती जनशक्तिलाई फिर्ता ल्याउन सक्ने अवस्था तत्कालै बन्ने देखिएको छैन । यो क्षेत्रको अहिलेसम्मको प्रवद्र्धन तथा मानव संशाधनमा गरेको लगानी खेर गयो भन्ने चिन्ता छ । पर्यटनलाई पुनः चलायमान बनाउन लगानीकर्तासँग पुँजी छैन । पुँजीविना यो क्षेत्र पुनःस्थापित हुन पनि सक्दैन । यसका लागि पुनः पर्यटन जागृत गराउने गरी पुँजी जुटाउनु पनि अर्को महत्वपूर्ण चुनौति हो ।
धेरै मजदुर क्रियाशील भएका मध्येको एक क्षेत्र होटल पनि हो । यही क्षेत्र सबैभन्दा ठूलो जोखिम उठाउनुपर्ने अवस्थामा पुग्यो । महामारीपछि विभिन्न क्षेत्रबाट हुने आपूर्ति प्रणाली यही क्षेत्रमा बढी बिग्रिएको छ । यसलाई पुनःस्थापित गर्नु पनि ठूलो चुनौति भएको छ ।
महामारीपछिको चाँदीको घेरा
महामारीपछि पर्यटनमा सकारात्मक नतिजा पनि देखिएका छन् । नेपालीको खाने, घुम्ने र बस्ने संस्कृतिमा परिवर्तन आएको छ । खानपानमा सचेतना अपनाउने, स्वास्थ्य सचेतनामा बढी ध्यान दिने, आइसोलेसनका गन्तव्यमा थप रुची जगाउने, पूर्वाधार निर्माण गर्दा महामारीमा भोग्नुपरेको साँघुरा पूर्वाधार फराकिला बनाउनेसहितको सकारात्मक पक्षको विकास भएको छ ।
नेपालमा यो अवधिमा नयाँ विमानस्थल थप भएको छ ।
विमानस्थलको सहजताले अब पर्यटक आगमनको क्षमता एकै पटक दोब्बर भए पनि धान्ने देखिएको छ । संसारका अरु गन्तव्यसँगको तुलनामा नेपालमा खोप लगाउने मात्रा पनि सन्तोषजनक नै छ । सरकारले अरु फ्रन्टलाइनको तुलनामा पर्यटन क्षेत्रलाई प्राथमिकता राखेर खोप उपलब्ध गराएको थियो । जसका कारण अब पर्यटन खुल्ने र आउने बेलामा शतप्रतिशत खोप लगाएका जनशक्तिबाट सेवा दिन तयार भएर बसेको अवस्था छ । मुख्य गन्तव्यका समुदाय पनि पूर्ण खोप लगाएर अहिले पर्यटकीय सेवाकै लागि तयार भइसकेको अवस्था छ ।
पूर्वाधार निर्माणतर्फ गौतम वुद्ध विमानस्थल करिब सकिएको छ । केही समयमा नै यो सञ्चालनमा आउँदै छ । भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण सकिएको छ । रानीपोखरी, धरहरासँगै पुरातात्विक क्षेत्रको पुनर्निर्माण पनि सकिएको छ । यसले पनि पर्यटकलाई देखाउने न्यूनतम आधार तय भएको प्रतिकात्मक अर्थ बोक्छ ।
नेपालका कमजोरी
महामारीकै बेला पनि नेपालमा पर्वतारोहण, पदयात्रा, प्रकृतिमा आधारित पर्यटन, वाइल्डलाइफ पर्यटनसहितबाट लाभ लिन सक्ने हुँदाहुँदै पनि नेपाल यसमा चुकेको छ । यसबाट नेपालले फाइदा लिन सकेन तर यसको फाइदा दक्षिण एसियामा माल्दिभ्सले राम्रैसँग लियो । त्यो मुलुकले करिब ७५ प्रतिशत लाभ लिन सकेको देखिन्छ । माल्दिभ्सले महामारीको समयमा पनि साढे १३ लाख पर्यटकलाई भित्र्यायो । नेपालले लकडाउन गर्दा माल्दिभ्स पनि सँगसँगै थियो । माल्दिभ्सले भने अरु मुलुकले लकडाउन गरिहँदा पर्यटकका लागि खुला गर्दै गयो । यसैका कारण पनि उसले राम्रो फाइदा लिन सक्यो ।
नेपाले महामारीमा गरेको अर्को कमजोरी भनेको पर्यटन क्षेत्रलाई संकटका बेला सरकारले नै द्विविधामा राखिरह्यो । पर्यटन क्षेत्र खुल्ने, बन्द हुने, खुलेको वा नखुलेको भ्रममा राखिरहने, सहजीकरण नगर्ने जस्ता कमजोरी भयो । सरकारले निर्णय गर्ने, कार्यान्वयन नगर्ने अवस्था लामो समयसम्म रह्यो । नेपालले जोखिम लिन नचाहेका कारण सबै क्षेत्र सहज भइसक्दा पनि पर्यटनलाई भने पूर्णरूपमा खुलाउने वातावारण बनाउन सकिएन । नेपालले दीर्घकालीन सोच र योजना बनाउन नसक्दा केही समस्या र अप्ठ्यारा भोग्नु पनि पर्यो ।
यसका साथै नेपालले पूर्ण खोप लगाएका पर्यटकलाई आगमन खोल्न पनि ढिला गर्यो । निजी क्षेत्रले ६ महिना अगाडिदेखि नै सहज गरौँ भन्दा सरकारले मानेन तर नेपालका निजी क्षेत्रले भनेकै जस्तो अभ्यास श्रीलंकाले अवलम्बन गर्यो । जसका कारण यता आउने पर्यटक उता गए । नेपालले खुला नै नगरेका कारण पर्यटक अन्तै जानु भनेको नेपालकै लागि गरिएको लामो समयसम्मको योजना र तयारी विफल हुनु हो ।
अहिलेसम्मको पर्यटन जेजस्तो अवस्थामा भएपनि अब नेपालले राम्रोसँग व्यवस्थापन गर्ने हो भने आउँदो पर्यटकीय सिजनबाट महामारी अगाडिकै अवस्थामा जान सकिने अपेक्षा गर्न सकिन्छ । आइसोलेसनमा हुने गतिविधि, भीडभाड नहुने क्षेत्रसहितबाट धेरै लाभ लिन सकिन्छ । सम्भावना पनि यतै छ । पर्यटकलाई आकर्षित गर्ने ती माध्यम नेपालमा प्रशस्त छन् । त्यसको सहजता र पर्यटकीय वातावारण बनाउनु चाहीँ हाम्रा लागि सबैभन्दा महत्वपूर्ण पाटो हुन्छ ।
पर्यटनमा अबको बाटो
नेपालले चालू वर्षको बजेटमा घोषणा गरेको पर्यटकलाई भिसा निःशुल्क गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न विदा पर्यटनलाई बढाउने काम गर्न सकिन्छ । सरकारी कर्मचारीलाई अनिवार्य पर्यटन काज विदा दिने भन्ने घोषणा पनि भएको थियो । यो घोषणा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । सरकारी योजनाअनुसार निजामति, सुरक्षा निकायसहितका कर्मचारीले यस्तो पर्यटन काज विदा पाउँछन् । यो सुविधा लिन करिब ४ लाख जति योग्य हुन्छन् । यसबाट प्रतिव्यक्ति करिब १५ हजार रूपैयाँका दरले खर्च हुँदा ६ अर्ब रूपैयाँको आर्थिक गतिविधि हुन सक्छ । यसले आन्तरिक गतिविधिका साथै अर्थतन्त्र चलायमान बनाउन सहज बनाउन सक्छ । तरलता केही हदसम्म भएपनि सहज बनाउन पनि यसले ठूलो भूमिका खेल्ने थियो ।
सरकारले बजेटबाट ल्याएको रु. ५० अर्बको कल्याणकारी कोषको सदुपयोग पनि अपेक्षाकृत हुन सकेन । जसले गर्दा अझै पनि महामारीबाट पीडित व्यवसायीले सुविधा पाउन सकेका छैनन । वाणिज्य बैंकहरूलाई इन्सेन्टिभ दिएर यसलाई थप प्रभावकारी बनाउन सकिन्छ । त्यसो हुन नसक्दा बैंकहरूले कार्यान्वयनमा जोड नै दिएनन् । उद्यमी व्यवसायीलाई सेवा सुविधा दिन ल्याएको कोष प्रभावकारी बनाउन सक्यो भने पर्यटन क्षेत्रको पुनरुत्थानमा थप सहयोग पुग्न सक्छ ।
पछिल्लो समयमा तरलता अभाव देखिएकोले पनि यसको कार्यान्वयन पक्ष फितलो भएको हो । जसरी कृषिमा अनिवार्य कर्जा जानुपर्ने हुँदा बैंकले नै बोलाएर कर्जा दिने गर्छन्, त्यसैगरी पर्यटन क्षेत्रलाई महत्व दिने, सहुलियत कर्जासँगै अनिवार्य लगानीको वातावरण बनाएर पर्यटनलाई थप गतिशिल बनाउन सकिन्छ ।
महामारीले सृजना गरेको अवसर
महामारीपछि नेपाली पर्यटनमा पनि धेरै अवसर सृजना भएका छन् । विश्वभर नेपालकै जस्तो गन्तव्यको खोजी हुन थालेको छ । स्वास्थ्यसम्बन्धी महामारी भएकोले खानामा बढी सचेत हुन थालेका छन् । नेपालमा खाना खानमा डराउनुपर्ने तथा स्ट्रीट फूड स्वास्थ्यकर नहुने भन्ने गरिएको थियो । अब यस्ता क्षेत्रलाई सरकारले नै तालिमको व्यवस्था गर्नुपर्छ । सचेतनामा बढी जोड दिनुपर्छ । यसले सानो पुँजीमा काम गर्ने तल्लो वर्गसम्मलाई अवसर सृजना गर्छ ।
नेपाल मौसमका हिसाबले पनि निकै राम्रो मानिन्छ । नेपाल जाडोमा न्यानो र गर्मीमा शितलता प्रदान गर्ने गन्तव्य पनि हो । यी गन्तव्यलाई मौसमअनुसार प्रवद्र्धन गर्ने र यसबाट अवसर लिन सकिन्छ । जाडोको समयमा तराई झर्ने र गर्मीको समयमा हिमाली क्षेत्र पस्न सकिने भएकोले संसारलाई लोभ्याउने हावापानी भएको मुलुकको रूपमा थप प्रवद्र्धन हुन सक्छ ।
नेपाल विविध सांस्कृतिक तथा पर्यटकीय गन्तव्यको मुलुक हो । यो मनोरञ्जनका लागि क्यासिनो खेल्न आउने गन्तव्य मात्रै होइन । आआफ्नो रुचीअनुसारको गतिविधिमा रमाउने क्षेत्रको रूपमा यो स्थापित हुँदै गएको छ । भिडभाडमा हुने गतिविधिभन्दा ग्रामीण पर्यटन र एक्लाएक्लै हिंडिने पदयात्रा र पर्वतारोहणले धेरै अवसर पाउने अवस्था सृजना भएको छ ।
नेपालले प्रवद्र्धन गर्न सक्ने थुप्रै पर्यटकीय क्षेत्र छन् । महामारीले झन् छुट्टाछुट्टै पर्यटकीय प्याकेज र पर्यटन प्रडक्ट विकास गर्न सकिने अवस्था सृजना गरेको छ । नेपालका हरेक डाँडामा पर्यटकीय सम्भावना छ । त्यसलाई प्रवद्र्धन गर्ने अवसर नेपाललाई हुने छ । जसले गर्दा पर्यटक आफ्नो रुचीअनुसारका गतिविधिमा जान थप प्रोत्साहित हुने अवसर छ ।
महामारीले पर्वतारोहण र पर्वतीय पर्यटनमा चाहीँ थप अवसर सृजना गरेको छ । गत वर्ष महामारीको दोस्रो लहर सुरु हुँदा सगरमाथा आरोहण भइरहेको थियो । नेपालमा आरोहण नभएका हिमाल पनि थुपै्र छन् । यसलाई प्रवद्र्धन गर्नु मात्रै पर्छ । पर्यटन प्रवद्र्धन हुने र त्यो क्षेत्रको विकास पनि हुने गरी काम गर्न सकिन्छ ।
नेपालले यस्तो बनाउने भनेर योजना मात्रै तय गर्ने हो भने प्रवद्र्धनमा थप जोड दिन सकिने प्रशस्त आधार छन् । यसका साथै नेपालको पर्यटनमा पछिल्लो समय थप भएका पूर्वाधारले धेरै गन्तव्यमा जोड्न सकेको छ । पर्यटन आगमनमा थप सम्भावनाका गन्तव्य खुला गर्न सकेको छ ।
(प्रस्तुत लेख नेपाल चेम्बर अफ कमर्शले आफ्नो ७१औं वार्षिक साधारण सभाका अवसरमा प्रकाशित गरेको ‘अर्थतन्त्रको पुनरुद्धार’ स्मारिकाबाट लिइएको हो ।)
FACEBOOK COMMENTS