बाथरोग एक दीर्घरोग हो र यो कैयौं प्रकारको हुन्छ । प्रकारअनुसार रोगको लक्षण पनि अलग हुने गर्दछ । यद्यपि धेरैजसो बाथरोगमा सामान्यतया देखिने साझा लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो । रोगका अनेक लक्षणहरू हुन सक्छन् । तर, हाम्रो समाजमा मानिसहरू रोगको पहिचानभन्दा पनि अनुमानको भरमा घरेलु उपचार विधि अपनाउने गर्दछन् । जोर्नी दुख्ने समस्या बाथरोगको लक्षण हो तर जोर्नी दुख्नेबित्तिकै चिसोको कारणले वा खानपानको फेरबदलको कारणले दुखेको हुनसक्ने अनुमान लगाउँदै घरेलु उपचारमा मात्र सीमित रहँदा र समयमै रोगको पहिचान नहुँदा यसले समस्यालाई अरू बल्झाउने र जटिलतातर्फ उन्मुख गराउने काम गर्छ ।
त्यतिमात्र होइन, जब दुखाई कम गर्ने उपायस्वरूप अञ्जानमा आफूखुसी अनेक औषधीहरूको प्रयोग हुन थाल्छ, त्यसले रोगीलाई अरू शिथिल मात्र बनाउँदैन, रोगलाई जटिल मोडतर्फ धकेल्न थाल्छ । फलस्वरूपः बिरामी डिप्रेशनमा जाने डरसमेत हुन्छ । जबसम्म रोगको पहिचान हुँदैन, सामान्य रोग पनि असामान्य लाग्न थाल्छ र बिरामीमा मनोवैज्ञानिक असर पर्न थाल्छ । त्यतिखेर रोगले भन्दा पनि एक प्रकारको शङ्का र चिन्ताले बिरामीलाई अरू शिथिल बनाउन थाल्छ ।
बाथरोग सामान्यतया हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा हुने गडबडीका कारणले हुन्छ । बाथरोग हराएर जाँदैन, तर यसलाई कम गर्ने अनेक उपायहरू छन् । यो रोगको समयमै पहिचान हुन सकेन भने शरीरका विभिन्न अङ्गहरूमा यसको असर र प्रभाव देखिन थाल्छ । यसका लागि बाथरोगका लक्षणहरू बुझ्नु निकै जरुरी हुन्छ ।
हात तथा खुट्टाका जोर्नीहरू सुन्निने, दुख्ने (जुन प्राय बिहानीपख रहन्छ), चिसो पानी चलाउँदा औँलाहरू नीलो, फुस्रोे भएर जाने, औँलाका टुप्पामा घाउ आउने, आँखा/मुख सुख्खा भइरहने, आँखामा बालुवा हालेजस्तो बिझाउने, घाममा बस्दा गाला र अनुहार धेरै रातो हुने, कपाल झर्ने, छालामा डाबर घाउ–खटिरा आइरहने, मुख, गुप्ताङ्ग वा शरीरका अरू भागमा घाउ–खटिरा निस्कने, लामो समयसम्म ज्वरो आइरहने, थकान हुने, जिउ धेरै गल्ने, आँखा रातो हुने, पाचन प्रणालीमा गडबडी हुने, ढाड दुख्ने र मध्यराति सुतेको अवस्थामा अर्को कोल्टो फर्किन कठिन हुने, गर्भावस्थामा बच्चा तुहिने इत्यादि सबै बाथरोगका लक्षण हुन सक्छन् ।
बाथ भन्नेबित्तिकै समान्यतया हामीहरू जोर्नी दुख्ने रोग भनेर मात्र बुझ्छौँ तर यसको असर शरीरका अन्य अङ्गहरूमा पनि देखिन सक्छ । यसले शरीरका हरेक अङ्ग जस्तैः फोक्सो, मृगौला, नसा, मुटु, आँखा आदिमा पनि असर गर्न सक्छ ।
बाथरोग लाग्नुमा कुनै खास र विशेष कारणलाई दोष दिन सकिन्न । यो वंशाणुगत पनि हुन सक्छ । वातावरणले समेत यसलाई बढाएको देखिन्छ । जोर्नी दुख्यो भन्दैमा अनुमानको भरमा यो बाथरोग हो भनेर पत्ता लगाउन सकिन्न । यसका लागि स्वास्थ्य परीक्षण अपरिहार्य हुन्छ । बाथका प्रकारहरू अलगअलग हुने भएकाले उपचारअघि कुन प्रकारको बाथ होे, पत्ता लगाउनु जरुरी हुन्छ ।
कसैकसैले बाथ त हो नि भन्दै अर्को बाथरोगीका लागि डाक्टरले सिफारिस गरेको औषधी सेवन गरेको समेत भेटिएको छ । यो सर्वथा गलत हो । यसले बिरामीको स्वास्थ्यमा अरू गम्भीर असर निम्त्याउन सक्छ ।
विगतमा हाम्रो समाजमा बाथरोग विशेषज्ञको अभावमा प्रायः बिरामीहरू छिमेकी देश वा त्योभन्दा पर जानुपर्ने बाध्यता थियो भने आजको सन्दर्भमा नेपालमा नै बाथरोगको उपचार सम्भव छ । विभिन्न प्रकारका बाथरोगमा प्रयोग हुने औषधीहरू यहीँ उपलब्ध छन् । जटिल अवस्थामा प्रयोग हुने बायोलोजिक्स सुईहरूसमेत नेपालमै उपलब्ध छन् ।
बाथरोगका प्रकार, यसको उपचार विधि, बाथरोगले पार्ने असर अनि अपनाउनुपर्ने सावधानीका बारेमा सामान्य जानकारी हुनु जरुरी छ । उपचारमा औषधी सेवनको बारेमा मात्र जानकार हुनु पर्याप्त हुँदैन । बाथरोगको औषधी लामो समयसम्म सेवन गर्नुपर्छ । सक्रिय र स्वस्थ रहन चिकित्सकको निगरानीमा औषधी उपचार गर्नु अपरिहार्य हुन्छ ।
(वरिष्ठ बाथरोग विशेषज्ञ डा. पुडासैनी आरोग्य स्वास्थ्य सदन, नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेलमा कार्यरत छिन् ।)
FACEBOOK COMMENTS