काठमाडौं । सरकारले सुन तथा सुनका गहनामा विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरहरूमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि सुनचाँदी व्यवसायीहरू आन्दोलित छन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले सुन तथा सुनका गहनामा दुई प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरहरूमा १३ प्रतिशत भ्याट लगाएपछि गत शुक्रबारयता सुनचाँदीको कारोबार नै ठप्प पारेर व्यवसायीहरूले आन्दोलनलाई नयाँ स्वरूपमा अगाडि बढाएका छन् ।
तर, व्यवसाय बन्दसहितको आन्दोलनमा समेत कतिपय सुनचाँदी पसल भने खुलेको पाइएको छ । हिजो मङ्गलबार काठमाडौंको विशालबजारस्थित रिद्धिसिद्धि ज्वेलर्स खुलेको देखियो ।
देशभर सुनचाँदी व्यवसाय ठप्पसहित विलासिता कर र भ्याटको व्यवस्थाविरुद्ध आन्दोलन भइरहँदा रिद्धिसिद्धि ज्वेलर्स चाहिँ किन खुल्यो ? ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ताले सुनचाँदीको कारोबारका लागि नभई हिसाब मिलानका लागि केही बेर पसल खोलिएको दाबी गरे । कर्पोरेट खबरसँगको टेलिफोन कुराकानीमा गुप्ताले विलासिता कर र भ्याटविरुद्धको आन्दोलनमा आफूहरूको पनि ऐक्यबद्धता रहेको बताए । पसल खोल्न चाहेको अवस्थामा आफूहरूलाई कुनै रोकटोक नहुने भन्दै उनले आन्दोलनमा ऐक्यबद्धताअनुसार नै आज बुधबार पनि पसल बन्द गरिएको बताए ।
‘अहिले क्लोजिङ चलिरहेको छ त्यसैले हिसाब मिलानका लागि केही बेर पसल खोलेका थियौँ, तर बिक्रीका लागि होइन,’ उनले भने । पसल खोलेर व्यापार नै गरेको र ग्राहकहरूसमेत भेला भएको तस्बिर कर्पोरेट खबरले प्राप्त गरेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो त मान्छेहरूले गर्छन् नै । खोल्नै पर्यो भने कुन कानुनले रोकेको छ र ? तर, हामीले व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छौँ । वेबसाइटमा पनि बन्द भनेर लेखेका छौँ । कहाँबाट भिड लाग्नु ?’
हिसाबकिताब मिलाउन खोलिएको पसलमा कोही पनि ग्राहक नआएको र त्यहाँ आफूहरू मात्रै रहेको उनले स्पष्ट गरेका छन् । आफूहरू मात्रै रहेको तस्बिरलाई ग्राहक हो भनी प्रचार गरेकामा दु:ख लागेकोसमेत उनले बताए ।
यता, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले आन्दोलनको अगुवाइ गरिरहेका संस्थामा आबद्ध नरहेका कतिपय सुनचाँदी व्यवसायीले पसल खोलेको हुन सक्ने बताए । ‘कतिपय सुनचाँदी व्यवसाय नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घमा आबद्ध छैनन्, उनीहरूले पसल खोलेका होलान्,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने ।
यसबीच सुनचाँदी व्यवसायीहरूको आन्दोलनका कारण शुक्रबारपछिका दुई कारोबार दिन (आइतबार र सोमबार) सुनचाँदीको नयाँ मूल्यसमेत निर्धारण भएको थिएन भने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार र बुधबार ढिला गरी दिउँसोको समयमा सुनचाँदीको नयाँ मूल्य आफ्नो आधिकारिक वेबसाइटमा अद्यावधिक गरेको देखिन्छ ।
महासङ्घका अनुसार आज बुधबार लागि छापावाल सनको मूल्य प्रतितोला एक लाख ९१ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य अघिल्लो दिन मङ्गलबारको तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँले बढी हो । मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँ तोकिएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मङ्गलबार प्रतितोला दुई हजार एक सय ५५ रुपैयाँ तोकिएको चाँदीको मूल्य बुधबार प्रतितोला १० रुपैयाँले घटेर दुई हजार एक सय ४५ रुपैयाँ कायम भएको छ ।
सुनचाँदी व्यवसायीहरूले बजेट सार्वजनिक भएदेखि नै विलासिता कर र भ्याटको व्यवस्थाविरुद्ध आवाज उठाउँदै आएका छन् । यो व्यवस्था पुनरवलोकन नगरिए नेपालमा सुनचाँदीको उच्च मूल्यवृद्धि भई आम उपभोक्ताहरू मारमा पर्ने, हजारौं रोजगारी गुम्ने र सुनचाँदी व्यवसाय नै बन्द हुनेसम्मको अवस्था आउन सक्ने भन्दै व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
विलासिता कर र भ्याट अर्थतन्त्रकै प्रतिकूल हुने उनीहरूको भनाइ छ । उपभोक्ता अधिकारवादी संस्थाहरूले पनि विलासिता कर र भ्याटको व्यवस्था अव्यावहारिक रहेको भन्दै फिर्ता लिनुपर्नेमा जोड दिँदै आएका छन् ।
यसबारे अर्थमन्त्री विष्णु पौडेलले भने सुनचाँदीको कारोबारमा लगाइएको विलासिता कर नयाँ नभएको र विगतमा १० लाख रुपैयाँ भन्दा माथिको कारोबारमा लाग्ने गरेको करलाई अहिले सबै कारोबारमा लागू गरिएको स्पष्ट पारेका छन् । मुलुकलाई सम्पत्ति शुद्धीकरणको ग्रे–लिस्टबाट बाहिर निकाल्नका लागि समेत यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।
यी समाचार पनि पढ्नुहोस्–
अर्थमन्त्री पौडेलको थप स्पष्टीकरण : सुनमा विलासिता कर नयाँ होइन, थ्रेसहोल्ड हटाइएको मात्र हो
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सुनचाँदीमा विलासिता कर लगाइएकाे हाे : अर्थमन्त्री पौडेल
FACEBOOK COMMENTS