काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको पर्यटन प्रवर्द्धन उद्देश्यले एप्पल फर्म राइड आयोजना हुने भएको छ ।
रोयल एनफिल्डको प्रायोजनमा काठमाडौं लिजेण्ड्सले ‘एप्पल फर्म राइड लाङटाङ राष्ट्रिय निकुञ्ज, २०२४’ सञ्चालन गर्ने भएको हो । उक्त क्षेत्रको पर्यटन र स्थानीय परम्परा, संस्कृति, स्याउ फर्म र अन्य स्थानीय दर्शनीय क्षेत्रहरूको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले राइड आयोजना हुन लागेको हो ।
लगभग ६० भन्दा बढी रोयल एल्फिल्ड बाइकसहरू सहभागी हुने यस कार्यक्रममा सहभागीहरू स्थानीय होमस्टे र टेन्टमा बस्नेछन् भने स्थानीय आमा समूहले आफ्नो खेतबारीमा उत्पादित अर्गानिक खानेकुराहरूको व्यवस्था गर्नेछन् । लाङटाङ राष्ट्रिय निकुञ्ज तीन जिल्लामा फैलिएको छ, जसले १७१० वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ ।
यो निकुञ्ज नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा पर्दछ । लाङटाङ राष्ट्रिय निकुञ्जमा हरियो नदीको उपत्यकासम्मका मनमोहक दृश्यहरू, पुराना सल्ला, धूपी र गुराँसका वनहरू छन् । त्यस्तै यो क्षेत्रमा पवित्र खोलानालादेखि उच्च उचाइमा पर्ने पवित्र तालहरू, जस्तैः विश्वप्रसिद्ध पवित्र गोसाइँकुण्ड ताल र लाङटाङ, गणेशर लिरूङ हिमालहरू पनि पर्दछन । निकुञ्जलाई संकटमा रहेका रातो पाण्डा, हिमालयन कालो भालु, बाह्रसिंगेलगायतका विभिन्न जातका मृगहरू, चित्तल, घोरल र २५० भन्दा बढी प्रजातिका चरालगायतका जनावरहरूका लागि प्रख्यात छ ।
काठमाडौं लिजेण्ड्स १९७६ मा काठमाडौं उपत्यकाको उत्तरमा लगभग ७५ किलोमिटरको दूरीमा गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित क्षेत्रको विशेष वनस्पति र जनावरको संरक्षण गर्न स्थापना भएको हो ।
FACEBOOK COMMENTS