काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीले सञ्चालन गरेको समृद्धिको लागि संकल्प यात्राले मध्यपहाडको समस्या पहिचान गर्न मद्दत पुगेको बताएका छन्।
एमालेले मङ्सिर १४ देखि पुस १ गतेसम्म सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धनमा कुरा गर्दै रिमालले मध्यपहाडको जीवनस्तर उकास्न फलफूल र कृषि उत्पादन तथा पशुपालनमा नै जोड दिनु पर्ने उनले बताए ।
किसानको कृषि र पशु बिमा गरिदिने र उत्पादन खरिद गर्ने जिम्मा राज्यले लिइदिने हो भने मध्यपहाडमा कृषिमा व्यवसायीकरण गर्न सकिने उनको भनाइ छ । ‘यति गर्यो भन्ने कृषि व्यवसायीकरणमा जान्छ, यही नै समस्या अहिले मध्यपहाडको कृषिमा देखिएको छ’, उनले भने।
मध्यपहाडको सयपत्री फूल र सुन्तलालाई मात्रै बजारीकरण गर्ने हो भने पनि त्यहाँको जीवनस्तरमा आमूल परिवर्तन गर्न सकिने उनको ठम्याइ छ । ‘सयपत्री र सुन्तलाले बजार पाउने हो भने त यी मान्छे मालामा हुन्थे नि, त्यो त व्यवहारले पनि देखाएको छ’, रिमालले भने।
गाउँबाट बाहिर गएका युवालाई गाउँमा नै बस्न आकर्षण गराउनु अहिलेको प्रमुख चुनौती रहेको रिमालले बताए । मधेश र चुरेमा सडक पुग्ने बित्तिकै बजारीकरण भएको भए पनि पहाडमा भने अझै बजारीकरण हुन नसकेको उनले बताए ।
त्यसैले पहाडामा बजारीकरण र औद्योगीकरण आजको आवश्यकता रहेको उनको भनाइ छ । ‘यी माल बिक्न थाल्नासाथ मान्छे अन्त जाँदैनन्, उद्यमशीलतातर्फ युवालाई डोर्याउन सकिन्छ, यसले बसाइसराइ र विदेश जाने लहर रोक्न सकिन्छ’, उनले भने ।
बाटो र बिजुली पुगेपछि मानिसमा चेतना बढेको र गाउँ सहर जस्तो भएको उनले बताए । यससँगै राम्रो विद्यालय र अस्पताल पनि गाउँमा चाहिने उनको भनाइ छ । त्यति भयो भने मात्र गाउँमा मानिस बस्ने उनले प्रष्ट पारे ।
त्यसैको लागि एमालेले स्वास्थ्य बिमा र हरेक गाउँमा अस्पतालको अवधारणा अघि सारेको उनले बताए । तर अहिलेको सरकारले त्यसको बजेट कटौती गरेर काम ठप्प गरेको भन्दै उनले आपत्ति जनाए ।
यात्राको क्रममा पहाडका स्कुलमा विद्यार्थीसंख्या अति न्यून देखिएको बताउँदै उनले त्यसको पनि कारण र विकल्प खोज्नुपर्ने उनको जोड छ । गाउँमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिएर उद्यमशीलताको अवसर सिर्जना गर्ने हो भने मध्यपहाड बसोबासको हिसाबले अति उपयुक्त हावापानी भएको भूमि भएको उनले बताए ।
विकास सहरबाट गाउँ पस्ने तर मानिस गाउँबाट सहर पस्ने र सहरबाट पनि विदेश पस्ने कुराको कारण खोजी त्यसलाई रोक्नु पर्छ भन्ने भन्ने मूल उद्देश्य लिएर यात्रा आरम्भ गरिएका उनले बताए । पुष्पलाल लोकमार्ग एमालेको सोचको मार्ग भएको उनले प्रष्ट पारे ।
एमालेले सो लोकमार्गको अवधारणा बनाउँदा लोकमार्ग भित्र १० वटा सहर बनाउने र ती मध्ये केहीलाई स्मार्ट सिटी बनाउने योजना अघि सारेको उनले सुनाए । ‘ती सहर बने कि बनेनन्, नबनेका भए किन बनेनन्, त्यसको कारण खोज्ने पनि यात्राको उद्देश्य थियो’, उनले भने ।
मध्यपहाडमा कृषिको व्यवसायीकरण सम्भावना र अवस्था कस्तो छ, कृषिमा व्यवसायीकरण भइरहेको छैन भने किन हुन सकेको छैन भन्ने कुराको खोजी गर्नु पनि यात्राको उद्देश्य रहेको उनले बताए ।
सांस्कृतिक एकता नै राष्ट्रिय एकता हुने भएकोले त्यसलाई जोड् र पार्टीलाई स्थानीय तहका जनतासम्म जोड्न पनि यात्रा सञ्चालन गरिएको उनको भनाइ छ । नेपालमा बलियो राष्ट्रिय शक्ति नबनी लोकतन्त्र र प्रणाली पनि जोगाउन नसकिने कुरालाई आत्मसाथ गरेर नै एमालले यो यात्रा सञ्चालन गरेको उनले प्रष्ट पारे ।
यात्राको क्रममा ३० वटा जिल्ला पार गर्दा ३० भन्दा बढी सांस्कृतिक विशेषता पहिचान गर्ने अवसर मिलेको उनले बताए ।
धेरै मानिसले यो यात्रालाई पदयात्रा भनेका भए पनि त्यो पदयात्रा नभएर गाडीकै यात्रा भएको उनले बताए । साथै समृद्धिको लागि संकल्प यात्रा चुनावी सभा जस्तो पनि नभएको उनले बताए । ‘हामी जनतालाई भेट्न चाहन्थ्यो, जनतासँग कुरा गर्न चाहन्थ्यो, हामीले भनेकै थियौँ एमालेको लस्कर हिँड्छ, लस्करलाई भेट्न बाटाभरि मानिसहरू बस्छन्’, उनले भने ।
पहिला पहिला कार्यक्रममा जनतालाई उतार्न धेरै मेहनत गर्नुपरेको भए पनि यस पटकको यात्रामा पार्टीले कुनै मेहनत नगरेको उनले प्रष्ट पारे । ‘हामीले आह्वान मात्र गर्यो, लाखौँको सङ्ख्यामा नागरिकले साथ दिनुभयो, यस अर्थमा हाम्रो कार्यक्रम अभूतपूर्व रूपमा सफल भएको छ’, उनले भने ।
यात्राको क्रममा ४२ भन्दा बढी ठाउँमा सभा गरिएको उनले जानकारी दिए । ती हरेक सभाका आफ्ना विशेषता रहेका रिमालले बताए । जाडोको समयमा छाता ओढेर पनि मानिसहरू अध्यक्षलाई सुन्न बसेका उनले सुनाए ।
त्यस्तै रातको १० बजेसम्म मानिसहरू पर्खिएर बसेका उनले बताए । नेपालको राजनीति इतिहासमा सिङ्गो पार्टी यसरी नागरिकका कुरा सुन्न पूर्वदेखि पश्चिमसम्म हिँडेको यो पहिलो अभियान भएको उनले बताए ।
‘हामी प्रत्येक जनतासँग भेट्ने हिसाबले हिँड्यौँ, २५ लाख भन्दा बढी जनतलो हाम्रो अध्यक्षले प्रत्यक्ष परोक्ष रूपमा भेटे, नेताहरूलाई ग्राउण्ड जिरोबाट नेपाल परिचय गराउने र जनतालाई समग्र एमालेको नेतृत्व कस्तो छ भन्ने चिनाउने यी दुवै कायमा हाम्रो यो यात्राले गराएको छ’, उनले भने ।
यात्रामा एमालेको सरलता र शालीनता पनि जनताले बुझ्न पाएका उनले बताए । नेताहरूले जनताको घरमा र सामूहिक रूपमा सुत्नेदेखि, जनताले बनाएको मेसमा खानेसम्मका अति सकारात्मक र गौरवपूर्ण काम भएका उनले बताए । त्यस्तै पार्टी अध्यक्षदेखि चालकसम्म एउटै ठाउँमा सुतेर समभाव विकास गर्न पनि यात्राले सहयोग गरेको उनले सुनाए ।
FACEBOOK COMMENTS