मुस्ताङ । कोरलानाका जोड्ने कागबेनी–चैले सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकामा कागबेनी–कोरला सीधा यातायात सेवा ३६ घण्टापछि सञ्चालनमा आएको हो ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि तथा कालीगण्डकी करिडोर (बेनी—जोमसोम–कोरला) सडक आयोजनाको संयुक्त पहलमा कागबेनी–कोरला सडक सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण कागबेनी–कोरला खण्डअन्तर्गत कागबेनीदेखि चैलेसम्मको करिब १२ किलोमिटर दूरी सडकको विभिन्न स्थानमा सडक भत्किएको थियो । वर्षाका कारण कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सवारीसाधन बारागुङ–३ को छुसाङ र चैलेमा थन्किएका थिए ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षाकर्मी, आयोजनालगायतको सहयोगमा कागबेनी–कोरला सीधा यातायात सेवा सञ्चालनमा ल्याउन सफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । कागबेनीदेखि दुई किलोमिटर उत्तरको कोरला सडकमा साविक सडकको विकल्प तत्कालका लागि करिब १०० मिटर बढी सडक डाइभर्सन निर्माण गरिएको छ ।
अवरुद्ध चैले सडकको भाँसिएको स्थानमा तत्कालका लागि उपकरण प्रयोग गरी माटो फिलिङ गरेर सडक सञ्चालनमा ल्याइएको बारागुङ–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । अन्य ससाना स्थानका सडकमा पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको हो । कागबेनी–कोरला सडक पूर्ण रुपमा खुलेसँगै कोरलानाका पुगेर फर्किदा बाटोमै थन्किएका झन्डै १०० सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय छुसाङले जनाएको छ ।
बारागुङ मुक्तिक्षेत्र–३ का वडाध्यक्ष विनोद गुरुङले कागबेनी–कोरला सडक अस्थायी कामचलाउका रुपमा सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार कोरला सडक पूर्ण रुपमा खुलाउन आयोजनाको समन्वयमा चार उपरकण एकैसाथ परिचालन गरिएको थियो । अर्का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले तत्कालका लागि हलुका सवारीसाधन मात्रै आउजाउ गर्नसक्ने बनाइएको ठूलो मालबाहक सवारीसाधनले कोरलानाका आउजाउ गर्न समस्या हुने बताए। जोमसोम—कागबेनी सडक भने मर्मतपछि शनिबारदेखि सञ्चालनमा आएको थियो ।

FACEBOOK COMMENTS