बारा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाराको मटिअर्वा–मानमतअन्तर्गतको साढे तीन किलोमिटर सडक निर्माण छिट्टै सुरु गर्ने बताएका छन् ।
उनले कलैयाको सडक निरीक्षण गर्दै सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा ठेकेदारले नसकेको अवस्थामा ठेक्का तोडेर भएपनि चाँडोभन्दा चाँडो सो सडक निर्माण अगाडि बढाउने प्रतिबद्धता जनाए ।
“नागरिकले वर्षायाममा भोग्दै आएको समस्यालाई हामीले बुझेका छौँ । त्यसैले यो सडक निर्माणतर्फ म निकै संवेदनशील छु”, मन्त्री घिसिङले भने । आजै मन्त्री घिसिङले महागढी नगरपालिकाको शक्तिपीठ गढीमाई मन्दिरमा पुजापाठ गरे ।
भारतीय निर्माण कम्पनी भिस्वा कन्ट्रक्सनले २०६८ सालमा बाराको मटिअर्वा–मानमतअन्तरगतको २७ किलोमिटर सडक कालोपत्रे सुरु गरेको थियो । हुलाकी मार्ग आयोजनाअन्तर्गत तत्कालीन समयमा कम्पनीले २३ किलोमिटर मात्रै कालोपत्र गरी साढे तीन किलोमिटर अधुरै छाडेको थियो । त्यसयताका १४ वर्षमा कालोपत्र गर्न बाँकी सडक हालसम्म अलपत्र छ ।
पछि आशीष÷डिएस जेभीले २०७३ कात्तिक ३ मा ठेक्का लिए पनि निर्माण सम्पन्न गरेन । पछिल्लो कम्पनीले दुई वटा प्याकेजमा ठेक्का लिएको थियो । पहिलो प्याकेज २३ करोड ७३ लाख ४२ हजार रुपैयाँ र दोस्रो प्याकेज २२ करोड ४५ लाख ९३ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।

सप्तकोशी जलाधार÷ओम साइ एण्ड कम्पनीले २०७८ पुस २७ मा सो खण्डको ठेक्का लिएको थियो । कम्पनीले जम्मा १८ प्रतिशत मात्रै काम गरेको छ । हुलाकी मार्ग आयोजना वीरगन्जका सूचना अधिकारी धर्मेन्द्रकुमार दासका अनुसार २२ करोड ३१ लाख ८६ हजार रुपैयाँमा ठेक्का लागेकोमा चार करोड १५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

FACEBOOK COMMENTS