काठमाडौँ । राजनीतिक र बौद्धिक क्षेत्रमा सशक्त रहेर पनि भौतिक पूर्वाधारमा पछि परेको भोजपुरलाई केही वर्ष अघिसम्म विकासमा पछि परेको कर्णाली क्षेत्रसँग तुलना गरिन्थ्यो। त्यही भोजपुर अहिले सडक पूर्वाधारको एउटा सूचकमा पहिलो स्थानमा पुगेको छ।
सडक पूर्वाधारले देशका अन्य भागसँग भोजपुर नजोडिएको बेला भोजपुरकै व्यवसायी श्याम श्रेष्ठले २०६५ सालमा भरियालाई बोकाएर ट्याक्टर र नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ म्याक्स ट्याक्सी पुएका थिए ।
तत्कालीन ग्रामीण सडक परियोजनाअन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो। त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्र्याक खोलिए पनि अरुण नदीमा पुल नहुँदा २०५६ देखि खन्न थालिएको सडक पूरा भएको थिएन। त्यसयता भोजपुरको सडक पूर्वाधार सञ्जाल गाउँगाउँमा विस्तार भइसकेको छ। हाल भोजपुर नगरपालिका–१२ टक्सार, मालबासेमा बनेको सडक देशकै सबैभन्दा बढी घुम्ती भएको सडकमा परेको छ।
सडक विभागका महानिर्देशक अर्जुन थापाका अनुसार हालसम्म कुनै सडकको एकै स्थानमा रहेका धेरै घुम्तीमा बनेपा–सिन्धुली–बर्दिबासको सिन्धुलीभन्दा माथिको सेल्फीडाँडामा १३ घुम्ती रहेका थिए। अहिले भोजपुर बजारबाट पिखुवापारिका गाउँ जोड्ने सडकखण्डका घुम्तीले त्यसलाई जितेको छ। उक्त सडकमा एकै ठाउँ २० घुम्ती रहेका छन्। महानिर्देशक थापाका अनुसार त्रिभुवन राजपथको मकवानपुरको भैँसेदेखि माथि कालीटार क्षेत्रमा १२ घुम्ती छन्। त्यहाँ एउटा घुम्तीबाट अर्को घुम्ती छर्लङ्ग देखिन्छ। बीपी राजमार्गको सेल्फीडाँडा क्षेत्रमा लगातार १३ वटा घुम्ती छन्। उक्त स्थान यात्रुका लागि फोटो खिचाउन प्रख्यात रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS