काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन् ।
उनले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र तत्काल पुनःनिर्माणमा शुरु गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । सोमबार अपरान्नदेखि परेको अविरल बर्षाले देशका बिभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।
उनले देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न निर्देशन दिएका छन् । अविरल बर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ । ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ । सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ ।
मन्त्री ज्वालाले भीमदत्त सडकको तत्काल पुनःनिर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिए । निर्माणधिन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मुल गेट नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अबरुद्ध बनेको छ । अबरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धीत क्षेत्रका निर्देशकहरुलाई निर्देशन दिएका छन् ।
मकवानपुरको वाग्मती गाउँपालिका सिग्रेमा पहिरो परी सन्तमाया स्याङतानको निधन भएका थियो । बाढी र पहिरोका कारण क्षतिग्रस्तमध्ये अहिले पनि चार राष्ट्रिय राजमार्ग ठप्प रहेको सडक विभागले जनाएको छ ।
FACEBOOK COMMENTS