काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङस्थित सडक निर्माणमा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
बित्थडचिर गाउँपालिका–९ अन्तर्गत बागथला–धारी डोबा सडक निर्माणमा काम नगरी भुक्तानी दिएको उजुरीका आधारमा गरिएको अनुसन्धानपछि मुद्दा दायर गरिएको हो ।
अनुसन्धानका क्रममा बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सबइन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी तथा निर्माण व्यवसायी मानबहादुर बोहराबीच मिलेमतो भएको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार योजनाअनुसार निर्माण कार्य पूरा नभए पनि सम्पन्न भएको देखाएर झुट्टा बिल र प्रतिवेदन तयार गरी भुक्तानी लिइएको थियो। नापी किताबमा ३३८ मिटर सिँचाइ नहर उल्लेख गरिए पनि स्थलमा २४८ मिटर मात्र निर्माण भएको र केही संरचनाको काम नै नभएको भेटिएको छ ।
यसरी वास्तविकभन्दा कम काम गरी सरकारी रकम करिब ८ लाख ४८ हजार रुपैयाँभन्दा बढी हिनामिना गरिएको आयोगको निष्कर्ष छ ।

उक्त कार्यले सरकारलाई हानि पुर्याउने र सम्बन्धित व्यक्तिलाई गैरकानुनी लाभ दिलाउने उद्देश्यले भ्रष्टाचार भएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

FACEBOOK COMMENTS