काठमाण्डौ । नेपालको एकमात्र साहसिक रियालिटी शो ‘हिमालय रोडिज’ को पाँचौ सिजन आगामी साउन ८ गतेदेखि हरेक सोमबार राती ८ बजे हिमालय टीभी एचडीबाट प्रसारण हुने भएको छ ।
‘पावर अफ फाइभ’ को थिममा निर्माण भएको यसपटकको रोडिजमा कुल पाँच जना ग्याङ लिडर हुनेछन् जसले आफ्नो टीमलाई जिताउन आफ्नो सम्पूर्ण शक्ति लगाउनेछन् । कार्यक्रममा होस्ट र ग्याङ लिडरका रुपमा चर्चित टीभी पर्सनालिटी सुरजसिंह ठकुरी अनुबन्ध भएका छन् भने नयाँ ग्याङ लिडरका रुपमा चर्चित नायिका प्रियंका कार्की थपिएकी छन् ।
पहिलो सिजनदेखि नै ग्याङ लिडरका रुपमा रहेका आशिष राना लाहुरे र दिया मास्के एवं सिजन ३ देखि निरन्तर रहेका अनुपविक्रम शाही पनि सिजन ५ मा ग्याङ लिडरका रुपमा देखिनेछन् ।
सिजन ५ मा कार्यक्रमको फर्म्याटमा समेत केही परिवर्तन गरी पाँच जना ग्याङ लिडरको टीमबीच रोचक प्रतिस्पर्धा गराइएको कार्यक्रमका निर्देशक शिमोस सुनुवार बताउँछन् । कोरोना महामारीका कारण अघिल्लो सिजनमा फिजिकल अडिसन गर्न नसकिएको भए पनि यो सिजनमा डिजिटल र फिजिकल दुवै अडिसनमार्फत् प्रतिभाहरुको छनौट गरिएको सुनुवारले बताए ।
डिजिटल अडिसनमा ४ हजार ४ सय र फिजिक अडिसनमार्फत् १ हजार १ सय ६ जना सहभागी भएका थिए । एमटीभी इन्डियाको फर्म्याटमा आधारित भएर २०७५ सालदेखि नेपालमा प्रसारण सुरु भएको हिमालय रोडिज सिजन ५ सम्मको यात्रा गर्ने पहिलो फेन्चाइज रियालिटी शो हो।
‘कोडिभको कहरवीच रोडिजजस्तो युवा पुस्ताले रुचाएको कार्यक्रमलाई निरन्तर उत्पादन र प्रसारण गर्दै पाँच सिजनसम्मको यात्रा गर्नु हाम्रा लागि निकै खुसीको विषय हो’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने, ‘सिजन पाँचसम्मको यो यात्रासमा साथ दिने सबै दर्शकलाई समर्पित गर्दै यो सिजन सेलिब्रेट गर्न चाहन्छौ ।’
हिमालय रोडिजलाई विगत चार सिजनदेखि टाइटल स्पोन्सरका रुपमा यामाहा मोटरसाइकलले साथ दिँदै आएको छ, जसका कारण यामाहा र रोडिज पर्यायवाचीजस्तै भएका छन् । यसैगरी इन असोसिएसनमा माउन्टेन ड्यु, स्टाइल बाईमा प्रोस्टाइल अनुबन्ध भएका छन् भने एसोसिएट स्पोन्सरका रुपमा केएफसी, सफ्टारिका कलेज, युनाइटेड अजोड इन्सुरेन्स र एचपी लुव्रिकेन्ट र मेडिकल पार्टनर स्टार हस्पिटल रहेका छन् । कार्यक्रमको बजार व्यवस्थापन पार्टनर मिडिया सेन्स रहेको छ ।
सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा टाइटल स्पोन्सरसहितका प्रायोजकसँग सम्झौता गरिएको छ भने कार्यक्रममा अनुबन्धित ग्याङ लिडर र होस्टलाई समेत सार्वजनिक गरिएको छ ।
FACEBOOK COMMENTS