काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत स्कटल्याण्ड र अमेरिकासँग हुने सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ ।
क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । यो सिरिज मे १२ देखि २२ सम्म टियु क्रिकेट मैदानमा हुदैछ ।
नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।
यस सिरिज अन्तर्गत मे १२ मंगलबार नेपाल र स्कटल्याण्ड खेल्ने छन् भने मे १४ मा स्कटल्याण्ड र अमेरिका, मे १६ मा नेपाल र अमेरिका, मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।