बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले माओवादी केन्द्रकी कृष्णा केसी र नेपाली फिल्मका निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) लाई मन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसको तर्फबाट उनले उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका हुन् ।
आइतबार बिहान उनले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएका छन् । पहिलोपटक मन्त्री बनेका निर्माता राणा प्युठानबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
रोज कांग्रेस सभापति शेरबहादुर देउवाका निकट पात्र मानिन्छ । देउवाकै पहलकदमीमा उनी मन्त्री बनेको चर्चा छ । प्रदेश सभा सदस्यमा निर्वाचन हुनुअघि उनी नेपाल चलचित्र निर्माता संघको महासचिव थिए । सांसद् बन्नका लागि उनले संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका थिएनन् । र, कांग्रेस सरकारमा हुँदा उनलाई चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने प्रस्ताव समेत आएको थियो ।
रोज करिब डेढ दशकदेखि फिल्म क्षेत्रमा आबद्ध छन् । ‘दादागिरी’बाट उनको फिल्म निर्माण यात्रा सुरु भएको थियो । उनले ‘डन’, ‘खलनायक’, ‘महान’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ फिल्ममा अभिनय समेत काम गरेका छन् । उनले दुई फिल्म ‘मेरो पैसा खोई रु’ र ‘जय परशुराम’को निर्देशन पनि गरिसकेका छन् । सम्भवतः राज्यको महत्त्वपूर्ण पदमा पुग्ने उनी पहिलो फिल्मकर्मी हुन् ।
रोजले लकडाउनपछि आफ्नो सफल फिल्म ‘खलनायक’को दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका थिए । तर, उनको राजनीतिमा सक्रियता बढेपछि फिल्म निर्माणको काम अगाडि बढ्न पाएको छैन । अब मन्त्री समेत भैसकेकाले उनले तत्काल फिल्म निर्माण गर्ने सम्भावना न्यून देखिन्छ । २०७३ साल साउन ३१ गते पुरानो बानेश्वरमा रोजमाथि एक समुहले खुकुरी प्रहार समेत गरेको थियो ।
FACEBOOK COMMENTS