गण्डकी । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् ।
पोखरा महानगरपालिका (१५ वन क्याम्पस लेन नं। ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन् ।
भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे। उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गरे । “अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाथे”, उनले भने, “सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।”
उनी अष्ट्रेलियामा काम गर्दा मासिक २ लाख आम्दानी गर्दथे । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनी स्वदेशी फर्किए। ६ वर्ष अघि स्वदेश फर्किएका उनले हाल मासिक ७० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् भने ३ जनालाई जागिर पनि दिएका छन्।
होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, “पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक १२ हजार ज्याला लिन्छु ।” आर्टसमा समेत रुचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए ।
उनीसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहेका छन् छ । उनीहरुले मासिक १७ हजारका दरले पारिश्रमिक पाउछन् । “मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ”, उजले भने ।
पोखरा महानगरपालिका वडा नं। १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गर्नुभएका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताउछन्।
“एक जोडि शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु ६ हजार ५ सयका दरले ७ लाख २ हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ”, उनले भने। शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए।
FACEBOOK COMMENTS