काठमाडौं । सामाजिक अभियन्ता तथा रोल्पाली चेली फाउन्डेसनकी अध्यक्ष यमुना केसीको प्रस्तुतिमा नयाँ तीज गीत ‘रोल्पाली चेली’ सार्वजनिक भएको छ ।
भद्र ओलीको निर्देशन तथा छायाङ्कनमा तयार भएको गीतमा शब्द, सङ्गीत र एरेञ्ज पनि भद्र ओलीकै रहेको छ भने कोरियोग्राफी शिवाजी क्षेत्रीले गरेका छन् ।
रातो र हरियो रङको पारम्परिक तीज पहिरनमा सुसज्जित यमुना केसीको प्रस्तुतिमा तयार भएको गीतमा मौलिक संस्कृति, पर्वको उल्लास र महिलाको भावनालाई प्राथमिकता दिइएको छ । गीतमा यमुना केसी स्वयंले स्वर दिएकी छिन् भने भिडिओको पोस्ट–प्रोडक्सन शिवाजी डान्स सेन्टरले गरेको छ ।
‘तीज हाम्रो संस्कार, संस्कृति र महिला एकताको प्रतीक हो । ‘रोल्पाली चेली’ मार्फत मैले हाम्रो मौलिकता, पर्वको उल्लास र महिलाको आवाजलाई संगीतको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेकी छु,’ गायिका केसीले भनिन्, ‘समाजसेवाजस्तै, कलामार्फत पनि म सधैं जनताको मनमा सकारात्मक सन्देश पुर्याउन चाहान्छु ।’
महिलासँग सम्बन्धित आधा दर्जन बढी संघसंस्थाहरूमा विभिन्न भूमिका निर्वाह गरिरहेकी केसीले एक दर्जन भन्दा बढी मानसम्मान तथा पुरस्कारहरू प्राप्त गरेकी छिन् ।
दिन–दु:खीको सेवा र समाजसेवामा विगत एक दशक भन्दा बढी समयदेखि सक्रिय रहँदै आएकी केसीले शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणमा उल्लेखनीय योगदान दिँदै आएकी छन् ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS