भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भक्तपुर क्षेत्र नं. २ का उम्मेदवारको आसन्न निर्वाचनमा विजय सुनिश्चित होस् भन्ने कामनासहित पार्टीका समर्थक तथा शुभेच्छुकहरूले गोरखास्थित प्रसिद्ध शक्तिपीठ मनकामना माईको दर्शन तथा पूजा–अर्चना गरेका छन् ।
धार्मिक आस्था र राष्ट्रिय भावनासँग जोडिएको यस कार्यक्रममा राप्रपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा विभिन्न क्षेत्रका शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । पूजा–अर्चनाका क्रममा देशमा शान्ति, स्थिरता, सुशासन र राष्ट्रिय एकताको कामना गरिएको सहभागीहरूले बताएका छन् ।
मनकामना माईको दर्शनपछि सहभागी समर्थकहरूले राप्रपाले अघि सारेका मूल राजनीतिक एजेन्डाहरू—हिन्दू राष्ट्रको पुन:स्थापना, संघीयताको खारेजी र अभिभावकीय राजसंस्थाको व्यवस्था—प्रति पूर्ण समर्थन रहेको स्पष्ट पारे । उनीहरूका अनुसार नेपालको मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षणका लागि यी एजेन्डा अपरिहार्य भइसकेका छन् ।
भक्तपुर जिल्ला कार्यसमिति सदस्य सन्तोष सिलवालले नेपाल ऐतिहासिक रूपमा सनातन हिन्दू राष्ट्र रहेको स्मरण गराउँदै वर्तमान धर्मनिरपेक्ष व्यवस्थाले जनभावनालाई सम्बोधन गर्न नसकेको धारणा व्यक्त गरे । ‘“बहुसङ्ख्यक नेपाली जनताको आस्था र संस्कृतिलाई सम्मान गर्दै नेपाललाई पुन: हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ,’ सिलवालको भनाइ थियो ।


त्यसैगरी, हालको संघीय शासन प्रणाली असफल भइसकेको भन्दै राप्रपा मध्यपुर थिमि–३ का सचिवले संघीयता खारेज गर्नुपर्ने माग दोहोर्याए । संघीयताले राज्यको खर्च बढाएको, प्रशासनिक बोझ थपेको र भ्रष्टाचारलाई प्रश्रय दिएको उनीहरूको आरोप छ । ‘संघीयताले विकासभन्दा बढी विवाद जन्माएको छ,’ एक सहभागीले भने, ‘अब बलियो केन्द्रिय शासन प्रणाली आवश्यक छ ।’

समर्थकहरूले अभिभावकीय राजसंस्था राष्ट्रको एकता, स्थायित्व र राष्ट्रिय स्वाधीनताको प्रतीक भएको उल्लेख गर्दै राजसंस्थाको पुन:स्थापनाले देशलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरे । उनीहरूका अनुसार दलगत राजनीतिभन्दा माथि रहने अभिभावकीय संस्था आजको आवश्यकता हो ।

मनकामना माईको दर्शनलाई केवल धार्मिक कर्म मात्र नभई, राष्ट्र, धर्म र परम्पराप्रतिको प्रतिबद्धताको रूपमा लिइएको समर्थकहरूको भनाइ छ । आगामी निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट राप्रपाका उम्मेदवारलाई विजयी गराउन आफूहरू संगठित र प्रतिबद्ध रहेको उनीहरूले बताएका छन् ।

पार्टी स्रोतका अनुसार भक्तपुर क्षेत्र नं. २ मा राप्रपाको चुनावी माहोल क्रमश: सकारात्मक बन्दै गएको छ । युवादेखि वृद्धसम्म पार्टीका एजेन्डाप्रति आकर्षण बढ्दै गएको र जनसमर्थन मजबुत हुँदै गएको दाबी राप्रपाको छ ।

समर्थकहरूले मनकामना माईसमक्ष राप्रपाको जितसँगै राष्ट्र, धर्म र परम्पराको संरक्षणको संकल्पसमेत व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS