काठमाडौं । राप्रपामा आन्तरिक विवाद बढिरहेका बेला प्रवक्ता मोहनकुमार श्रेष्ठले नवराज सुवेदीलाई उनले पार्टी छोडेको स्मरण गराएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई अनुशासन समितिको अध्यक्षबाट पार्टीको विधानविपरीत हटाएको भन्दै आज निर्वाचन आयोग जाने तयारी गरेका सुवेदीलाई राप्रपा प्रवक्ता श्रेष्ठले गत चैत ४ गते राप्रपा परित्याग गरेको स्मरण गराएका छन् ।
राजसंस्था फर्काउन गठन गरिएको जनआन्दोलन परिचालन समितिको संयोजक बनेपछि चैत ४ गते सुवेदीले आफू अब राजसंस्था फर्काउन समर्पित हुने भन्दै राप्रपाको साधारण सदस्यसमेत नरहेको बताएका थिए ।
राप्रपा प्रवक्ताले सुवेदीलाई लोकलाजको ख्याल गर्न र जीवनको उत्तरार्द्धमा इमान नछोड्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सार्वजनिक रूपमा चैत ४ गते राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको तपाईं राप्रपामै छु भन्न आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ रे ! लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तरार्द्धमा इमान नछाड्नोस् ! तपाईं राप्रपामा फेरि सक्रिय हुन सक्नुहुन्छ तर बाटो त्यता होइन है !’
अध्यक्ष लिङ्देनले असार २५ गते सुवेदी अध्यक्ष रहेको पार्टीको अनुशासन समितिको अध्यक्षमा रोशन कार्कीलाई नियुक्त गरेका थिए भने सगुन लावतीलाई प्रवक्ताबाट हटाएका थिए ।
FACEBOOK COMMENTS