काठमाडौं । सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले आइतबार रातिदेखि देशभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी निधन भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको हो।
सरकारले मृतक परिवारमा एक वा त्यो भन्दा बढी व्यक्तिको निधन भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बैठकले प्राकृतिक विपद्का कारण निधन भएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्ने र मृतकका परिवारलाई समवेदना प्रकट गर्ने निर्णय गरेको छ। बैठकले विपद्बाट घर, बहाल नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमीन तथा व्यवसाय गुमाएका गुजारा चलाउन समस्यामा परेका पाँच जना सम्मको परिवारलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ र पाँच जनाभन्दा माथि परिवार सदस्य भएको परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
FACEBOOK COMMENTS