काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित तीनजना सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
सिन्धुली–१ बाट निर्वाचित धनेन्द्र कार्की, उदयपुर–२ बाट निर्वाचित सूर्यबहादुर तामाङ र पर्सा–१ बाट निर्वाचित बुद्धिप्रसाद पन्तविरुद्ध आज मंगलबार रिट दर्ता भएको हो ।
उनीहरू तीनैजनाविरुद्ध एमालेका उम्मेदवारहरूले रिट हालेका हुन् । प्राप्त जानकारी अनुसार सांसद कार्कीविरुद्ध एमाले उम्मेदवार प्रदिपकुमार कटुवाल, तामाङविरुद्ध एमाले उम्मेदवार अम्बरबहादुर रायमाझी र पन्तविरुद्ध एमाले उम्मेदवार प्रदीप यादवले रिट दर्ता गराएका हुन् ।
प्रतिवादी तीनैजना कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको र निर्वाचन आयोगलाई भ्रममा राखेर उम्मेदवार बनेको भन्दै कार्की, तामाङ र पन्तलाई निर्वाचित घोषणा गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने र निकटतम प्रतिस्पर्धीलाई विजयी घोषणा गर्नुपर्ने माग निवेदनमा उल्लेख छ ।
सर्वोच्च अदालतमा दर्ता भइसकेको रिटमाथि चैत २५ गते पेशी तोकिएको बताइएको छ ।


FACEBOOK COMMENTS